तिलौराकोट नै बुद्धको क्रीडास्थल रहेको पुष्टि

  |   प्रकाशित :

कपिलवस्तु । तिलौराकोट नै बुद्धको क्रीडास्थल र राजा सुद्धोदनको दरबार रहेको पुष्टि हुँदै गएको छ। भारतले पिपराहवामा नक्कली कपिलस्तु खडा गरिरहेको बेला तिलौराकोट नै बुद्धको दरबार रहेको अध्ययन अनुसन्धानबाट प्रमाणित भएको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरातत्वविद्हरू बताउँछन्।

तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन बुद्धको क्रीडास्थल तिलौराकोटमा नौ वर्षदेखि उत्खनन र अनुसन्धान जारी छ। यस वर्ष राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूको टोलीले गरेको उत्खनन कार्य सम्पन्न भएको छ। जापानिज फन्ड इन ट्रस्टको सहयोगमा र युनेस्कोको संयोजनामा बेलायतको दुर्हम विश्वविद्यालय र पुरातत्व विभागको पुरातत्वविद्को टोलीले उत्खनन र अनुसन्धान गरेको हो।

यस पटक पनि वैज्ञानिक तरिकाले उत्खनन, अन्वेषण, भूभौतिक सर्भे, ड्रोन फोटोग्राफी, फिल्ड वाकिङ सोसोइकनोमिक सर्भे, भिजिटर सर्भे गरी अध्ययन अनुसन्धान गरिएको थियो। विभाग र कोषले सन २०१२ देखि उत्खनन तथा अनुसन्धान कार्य थालेको थियो। वैज्ञानिक तरिकाले गरिएको उत्खनन र अनुसन्धानबाट तिलौराकोट नै प्राचीन कपिलवस्तुको राजधानी रहेको पुष्टि हुँदै गएको आजको नागरिक दैनिकमा खवर छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech