एसईई ६ गतेबाट सुरु, नयाँ सत्रको भर्ना नलिन सरकारको अपिल

  |   प्रकाशित :

काठमाडौं । कोरोना भाइरसको संक्रमणको जोखिम भए पनि माध्यमिक शिक्षा परीक्षा (एसईई) नियमित तालिकामै सञ्चालन हुने भएको छ ।

माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत ६ गतेबाट सुरु भई १७ गते सकिने छ । ‘एसईई परीक्षा पूर्वनिर्धारित समय तालिकाअनुसार नै पर्याप्त सावधानी अपनाएर सञ्चालन एवं व्यवस्थापन गर्ने गराउने प्रबन्ध गरिएको छ,’ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले मंगलबार अपिलपत्र जारी गर्दै भनेका छन्, ‘उक्त परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ ।

विद्यार्थीहरूलाई परीक्षा केन्द्रमा स्वास्थ्य सहायता प्रदान गर्न प्रत्येक परीक्षा केन्द्रमा परीक्षा अवधिभर हेल्थ डेस्क राख्ने प्रबन्धका लागि ७ सय ५३ वटै स्थानीय तहलाई अनुरोध गरिसकिएको छ ।’ परीक्षा अवधिभरि कुनै पनि परीक्षा केन्द्रमा अनावश्यक भीडभाड नगर्न अभिभावक र स्थानीय जनसमुदायलाई अनुरोध गरिएको छ ।

मन्त्री पोखरेलले अपिलपत्रमा भनेका छन्, ‘परीक्षालाई मर्यादित, भयरहित वातावरणमा सम्पन्न गर्न विद्यार्थी, शिक्षक, अभिभावक, सुरक्षाकर्मी, सरकारी निकाय, आमसञ्चार माध्यम तथा पत्रकार, राजनीतिक दललगायत सम्पूर्ण सरोकारवालामा हार्दिक अपिल गर्छु ।’ यसैगरी, शैक्षिक सत्र २०७७ को निम्ति तत्काल कुनै विद्यालयले नयाँ भर्ना नलिन मन्त्रालयले भनेको छ । 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech