चिनियाँ नाका ‘रसुवागढी’ खोल्ने निर्णय पुनर्विचार हुन सक्दैनः आपूर्ति मन्त्रालय

  |   प्रकाशित :

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले रसुवागढी नखोल्न स्थानीय तहले गरेको अनुरोधमा कुनै पुनर्विचार नहुने जनाएको छ । रसुवागढी नाका सञ्चालनमा नल्याउन गोसाइँकुण्ड गाउँपालिका वडा नम्बर २ ले गरेको निवेदन मन्त्रालयमा आएकोबारे प्रतिक्रिया दिँदै वाणिज्य तथा आपूर्ति सचिव डा. बैकुण्ठ अर्यालले यस्तो बताएका हुन् ।

रसुवागढी नाका खोल्ने निर्णय फिर्ता लिन रसुवाको गोसाइकुण्ड गाउँपालिकाको दुई नम्बर वडा कार्यालयले सरकारलाई आग्रह गरेको थिए । कोरोनाको महामारी नरोकिएसम्म रसुवागढी नाका तथा वडाक्षेत्रमा आवतजावत गर्न नदिने भन्दै गोसाइकुण्ड गाउँपालिका दुई नम्बर वडाका वडाअध्यक्ष दावा दिण्डुप तामाङले जिल्ला प्रशासन कार्यालयललाई पत्र लेखेका थिए । 

वडाअध्यक्ष तामाङको पत्रमा ‘नेपाल सरकारको उक्त निर्णयप्रति यस वडा कार्यालय घोर आपत्ति जनाउँदै फिर्ता लिन अनुरोध गर्दछ’ भनिएको थियो । ‘जबसम्म महामारी रोग नियन्त्रण हुँदैन तबसम्म यस रसुवागढी नाका तथा वडा क्षेत्रमा आवतजावत नगर्न समेत जानकारी गराउँदछु ।’ उनले पत्रमा लेखेका छन् । कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको गत बुधबार बसेको बैठकले समान आयात निर्यातका लागि उक्त नाका खोल्ने निर्णय गरेको थियो ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech