प्रधानमन्त्रीलाई खुलापत्रः सुदूरपश्चिमलाई कहिलेसम्म विभेद ? पराया भूमिमा मृत्युवरण नगरेसम्म सीमामा अलपत्र नेपालीको आवाज नसुन्ने ?

  |   प्रकाशित :

सम्माननीय प्रधानमन्त्रीज्यू ! नमस्कार ।

सर्वप्रथम यहाँको स्वास्थ्यलाभको कामना गर्दछु । अब म सिधै विषयवस्तुमा प्रवेश गर्न चाहन्छु । कोरोना भाइरसको महामारीले विश्व आक्रान्त छ । यसबाट नेपाल पनि अछुतो रहने कुरो भएन । नेपालले कोरोना भाइरसको संक्रमण फैलिन नदिन २ हप्ताका लागि लकडाउन घोषणा गरेको छ । यो सुरक्षित नेपालका लागि आवश्यक पनि थियो । यसका लागि हामी हजुरले नेतृत्व गरिरहेको नेपाल सरकारलाई धन्यवाद दिन्छौं । तर, लकडाउन चल्दै गर्दा सरकारको फितलो तयारी, लाचारीले नेपालीले भोग्नुपरेको दुख पीडा र समस्या देख्दा सैह्य नभएर यो पत्र लेख्न बाध्य भएँ ।
 
प्रधानमन्त्रीज्यू,

नेपाली नागरिक जुनसुकै देशमा, सहरमा अलपत्र परे पनि उद्धार गर्नु सरकारको दायित्व हो । अझ डेमेक्रयाटिक सिस्टममा जनता जनार्दन भनिन्छ । अर्थात राज्य भनेकै जनताको लागि हो । यसको महसुस केही अघि सरकारले चीनको वुहानबाट नेपाली नागरिक उद्धार गरेर ल्याउँदा गर्न पाएका थियौं। राज्य रहेछ, सरकार रहेछ भन्ने प्रत्यक्ष अनुभूति थियो त्यो। तर, पछिल्ला दिनहरुमा सरकारको वेवास्ता र कठोर व्यवहारले त्यो अनुभूति गुमेको छ । राज्यले नसुनेपछि नागरिकहरु परदेशी भूमिमा नेपाली हुनुमा गर्व होइन धिक्कारिरहेका छन् । उनीहरुमा आक्रोश छ, बाध्यता छ, पीडा छ तर, कसलाई सुनाउनेरु सिंहदरबार कानमा तेल हानेर बसेको छ । तपाई आफै विरामी भएर आराममा हुनुहुन्छ । जिम्मेवारी दिएका मन्त्रीहरुले सुनेका छैनन्, सुन्न चाहँदैनन् । 

प्रधानमन्त्रीज्यू,
 
म यहाँ सुदूरपश्चिमलाई आजसम्म राज्यले हेर्ने विभेदकारी नजर र हालै त्यो नजर दार्चुला र धारचुलामा छताछुल्ल भएकोतर्फ यहाँको ध्यानाकर्षण गराउन चाहन्छु । तपाईले मन्त्रिपरिषदबाट लकडाउनको निर्णय गरेपछि सबैभन्दा बढी मारमा सुदूरपश्चिमका मजदुर परेका छन् । जो दुई छाक टार्नका लागि मजदुरी गर्न भारतमा थिए । भारतमा पनि लकडाउन भएपछि कामविहीन उनीहरु घर फर्किन हिँडेरै नेपाल भारत सीमासम्म आइपुगे । तर, घर आउन खोज्दा जब आफ्नै देशले रोक्यो उनीहरुको मन थामिएन । सीमामै नाराबाजी गरे, चिच्याए । तर, उनीहरुको चित्कार तपाईले सुन्नुभएन । सिंहदरबारले सुनेन । तपाइहरुको आदेशविना स्थानीय प्रशासनले सीमामा आइपुगेका नेपालीलाई घर आउनै दिएन । नेपाली नागरिकका लागि यो भन्दा विडम्बना के हुन्छ ? तपाइहरुले पराय भूमिबाट चिच्याएको नसुनेपछि दुई जना नेपाली तपाइहरुको ध्यानाकर्षण गराउन ज्यान जोखिममा हालेर महाकाली नदीमा हाम्फाले । धन्न उनीहरु सकुशल आफ्नो भूमिमा आइपुगे । तर, त्यति गर्दा पनि तपाइहरुको ध्यानाकर्षित हुने त कहाँ हो उल्टै नांगै हत्कडी लगाएर बजार परिक्रमा गराउनुभयो । 

प्रधानमन्त्रीज्यू,

जसरी तपाइले काठमाडौं तथा अन्य भुभागका हुनेखाने परिवारका सन्तानलाई सरकारी पैसामा जहाज चार्टर गरेर वुहानबाट उद्धार गरेर ल्याउनुभयो त्यो व्यवहार सीमामा फसेका सुदूरपश्चिमवासी नेपाली नागरिकका लागि देखिएन । आखिर चीनमा फसेका नेपाली र भारतीय सीमामा फसेका नेपाली नेपालकै नागरिक थिए । यत्रो विभेद किन ? आखिर दुबै नागरिकले कर त नेपाल राज्यलाई नै तिर्छन । नागरिकता त नेपाली नै छ नी । अनि भारतीय सीमामा फसेका नेपालीले चार्टर विमान त खोजेका थिएनन् नी । क्वारेन्टाइनमा पनि बस्छौं भनेकै थिए। अनि किन यत्रो विभेदरु कि तपाइको सरकारको ध्यान केन्द्रीत हुन सीमामा अलपत्र नेपालीले पराया भूमिमा मृत्युवरण नै गर्नुपर्ने हो ?

प्रधानमन्त्रीज्यू,

तपाइलाई राष्ट्रवादी नेता भनिन्छ । नाकाबन्दीका बेला तपाईको अडानले त्यो परिचय दियो । त्यसो त अहिले नेपालीहरु जहाँबाट घर फर्किन चिच्याइरहेका छन् त्यो ठाउँ राष्ट्रवादका लागि नारा लगाउन प्रयोग गरिने ठाउँ हो । दार्चुलामै पर्छ कालापानी, लिपुलेक र लिम्पियाधुरा । जुन अहिले भारतीय नक्सामा परेको छ । यी ठाउँ फिर्ताका लागि आवाज उठाउने तपाई, तपाइको पार्टी । त्यहीँ ठाउँको भारतीय सीमामा नेपाली अलपत्र पर्दा किन चुप? यो तपाइहरुको दायित्व होइनरु असली राष्ट्रवाद देखाउने बेला हो यो समस्या । तर, तपाइहरु मुकदर्शक बनिरहनुभएको छ । तपाइहरुले नसुनेपछि भारतले नेपालीमाथि सद्भाव देखाएको छ । त्यहाँ अलपत्र नेपालीलाई क्वारेन्टाइनमा राखेर खानबस्नको व्यवस्था गरेको छ । तपाइहरुका लागि यो भन्दा लाजमर्दो अवस्था के हुन्छ । नेपालीहरु आफ्नो देशको सरकारको रवैया हेरेर आफैलाई धिक्कारी रहेका छन् । उनीहरु भारतको आश्रय लिन चाहँदैनन् तर अरु विकल्प पनि त छैन ।

प्रधानमन्त्रीज्यू,

सुदूरपश्चिममाथि विभेद अहिले मात्रै होइन विगतदेखि नै जारी छ । त्यो राजनीतिमा पनि यथावत छ । तपाइकै पार्टी नेकपाभित्र पनि त्यो चरम रुपमा कायम छ। सुदूरपश्चिमको भएकै कारण तपाइले भीम रावललाई पार्टी्भित्र पेल्नुभएको छ । विद्धताको आधारमा, शासन र कार्यकुशलताको आधारमा अब्बल तथा अनुभवी राष्ट्रवादी छविका वरिष्ठ नेता रावललाई छाडेर तपाइले गुटका नाममा जुनियर ईश्वर पोखरेललाई काखी च्याप्नु भएको छ । जसको परिणाम अहिले स्वास्थ्य उपकरण खरीदमा छताछुल्ल भएको छ । आफू आराम गरेर सम्पूर्ण जिम्मेवारी पटक पटक चुनाव हारेका, ट्यांकीमा पैसा लुकाएका र पछिल्लो बिदेशी एजेन्टजस्तो भूमिकामा देखिएका पोखरेलाई दिनुले सुपवासीले मात्र होइन पुरै देशले भोग्नुपरेको परिणामबारे तपाइलाई अन्दाजा हुनुपर्ने हो । 
अन्त्यमा प्रधानमन्त्रीज्यू तपाइमाथि प्रश्न गर्दछु कि सुदूरपश्चिममाथि विभेद कहिलेसम्म? सीमामा अलपत्र नेपाली कहिले मातृभूमि टेक्न पाउने, घर आउन पाउने ? 

धन्यवाद ।

(- लेखक कापड़ी नेपाल बिद्यार्थी संघका नेता हुन्)

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech