कोभिड– १९ः पाहुना आएकै दिन फिर्ता हुनुपर्ने, नभए १४ दिन क्वरेण्टीनमा बस्नुपर्ने

  |   प्रकाशित :

 गोरखा । सिरानचोक गाउँपालिका–७ ले गाउँमा आएका पाहुनालाई समेत स-सम्मान आफ्नै घर फर्काउन थालेको छ । 

कोेरोना भाइरस कोभिड– १९को सम्भावित  जोखिम हुन नदिन गाउँमा आएका पाहुनालाई समेत स(सम्मान आफ्नै घर फर्काउन थालेको  हो । कोरोना नियन्त्रण तथा रोकथामका लागि गठित स्थानीय प्रतिकार्य समितिले गाउँमा आएका पाहुनालाई आएकै दिन घर फर्काउने गरेको हो । 

सो समितिले आज बिहान लमजुङको विचौरबाट पैदल हिँड्दै  कृष्णबहादुर नेपालीको घर आएका उनका नातिलाई घर बाहिरै ससम्मान खाना खुवाएर फर्काइएको वडाध्यक्ष सुरज ढकालले जानकारी दिए ।

“कोरोना भाइरसको सम्भावित जोखिम न्यूनीकरणका लागि गठित प्रतिकार्य समिति २४सै घण्टा सजग अवस्थामा रहन्छ”, उनले भने, “गाउँमा नयाँ मान्छे आएको जानकारी पाउनेबित्तिकै समितिको बैठक बसेर आवश्यक निर्णय गर्छ ।” 
 
समितिले गाउँमा आएका पाहुनालाई कि १४ दिन क्वरेण्टीनमा राख्ने वा बस्न नचाहे खाना खुवाएर स–सम्मान फिर्ता पठाउने गरेको वडाध्यक्ष ढकालले जानकारी दिए ।  

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech