नेपालमा चिनियाँ नागरीकको अपराध: लुकाउँदै प्रहरी, सरकार मौन !

  |   प्रकाशित :

काठमाडौं । सरकारले कोरोना भाइरस फैलिन नदिन मुलुकभर गरेको लकडाउन उल्लंघन गर्दै गत चैत १७ गते लमजुङको मर्स्याङ्दी गाउँपालिका–६ ठूलोबेँसीमा निर्माणाधीन न्यादी हाइड्रोपावरमा चिनियाँ नागरिकले गाउँको बाटो हुँदै सामान भित्र्याउन थालेपछि स्थानीयबासीले विरोध गरेका थिए ।

चिनियाँ नागरिकबाट उल्लंघन भएको भनी स्थानीयबासीले सामान ओसारपसार नगर्न आग्रह गर्दा चिनियाँहरू खुकुरी लिएर आक्रमणमा उत्रिए । चिनियाँ नागरिक आक्रमणमा उत्रेपछि विरोधमा स्थानीयबासी ओइरिए । स्थिति नियन्त्रण गर्न प्रहरी परिचालन भयो । प्रहरीले आक्रमणमा उत्रने चिनियाँ नागरिकलाई पक्राउ गरी कानुनी दायरामा ल्याउनुको साटो मेलमिलापमै टुङ्ग्याइदियो ।

त्यस्तै, गत चैत १५ गते कास्कीमा व्यवसाय गर्दै आएकी चिनियाँ नागरिक क्वान जु ४ रुपैयाँ पर्ने माक्स ३० रुपैयाँमा बेच्दै गर्दा कास्कीको बैदाममा पक्राउ परिन् । प्रहरीले उनको साथबाट १५ सय थानभन्दा बढी माक्स बरामद गरेको थियो । ती ४७ वर्षीया चिनियाँ महिलालाई भोलिपल्ट जिल्ला प्रशासन कार्यालय कास्कीले धरौटीमा छाडिदियो ।

त्यस्तै, चैत ५ गते ठमेलमा व्यवसाय गर्ने एक चिनियाँ नागरिकलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गर्‍यो । कालोबजारीको गिरोह चलाएर बसेका ती चिनियाँ पक्राउ परेको जानकारी गराउनसमेत प्रहरीले उचित ठानेन, कारण थियो नेपालमा चीनको प्रतिष्ठा बिग्रने डर ।

त्यस्तै, गत फागुन ३० गते ठमेलममा चिनियाँले सञ्चालन गरेको होटलअगाडि खाली ट्याक्सी रोकिनासाथ तरबार र घरेलु हतियारसहितका चिनियाँको भिडले एक्कासी ट्याक्सीचालकमाथि आक्रमण गरेको थियो । 

निर्दोष ट्याक्सीचालकलाई हातपात गर्ने भिडको नेता थिए चिनिया ब्यापारी वाङ्ग युन फेङ्ग । फेङ्गले ठमेलमा च्यालिङ्ग पेभिलियन होटेल र चिङ्ग मन पिङ्गुआन होटेल सञ्चालन गरेका छन् । उनी स्थानीय नेपाली व्यापारीहरूलाई धम्क्याउने, कबुल बमोजिम भाडा नतिर्ने, नेपालीमाथि दुर्व्यबहार गर्ने कामको नेतृत्व गर्छन् । चिनियाँ नागरिककले नेपालीलाई पिटेपछि नजिकै दरवारमार्गको प्रहरी टोली निकै ढिलो गरी घटनास्थल पुग्यो र घटना सामन्य रूपमै सामसुम पारिदियो ।

प्रहरीका उच्च अधिकारी, व्यापारी तथा केही राजनीतिज्ञसँग राम्रो उठबस रहेका फेङ्ग गैरकानुनीरूपमा स्टिएरिङ देब्रेतर्फ भएको चिनियाँ नम्बर प्लेट ए पाइभ यू ६८५ नम्बरको गाडी चढ्छन् । यो गाडी उनले केरुङ नाकाबाट २०७६ गत वैशाखमा भित्र्याएको जानकारी भए पनि प्रहरीले बेवास्ता गरेको छ ।

नेपाल प्रहरीका पूर्वनायव महानिरीक्षक (डीआइजी) केशव अधिकारी प्रहरीले कसैलाई कुनै घटनामा पक्राउ गर्छ भने त्यो पारदर्शी हुनुपर्ने बताउँछन् । उनी भन्छन्, ‘जब घटना लुकाउन खोजिन्छ, त्यसले शंका जन्माउँछ ।’ अनुसन्धान अवधिभर प्रहरीले अनुसन्धानको गोपनियता राख्नुपर्ने भए पनि घटनाको यथार्थ पारदर्शी हुनुपर्ने र लुकाउनुपर्ने कारण नहुने अधिकारी बताउँछन् ।

प्रहरीले पक्राउको घटना लुकाउनु गलत हुने र सामान्य घटनामा मिलापत्र गर्नु अस्वाभाविक नभए पनि जघन्य अपराधका घटनामा मिलापत्र गराउनु कानुन विपरीत हुने उनको भनाइ छ ।

प्रहरी उच्च अधिकारीहरू भने चिनियाँहरू संलग्न घटनामा अपारदर्शिता र मिलापत्र भएको स्वीकार्दैनन् नेपाल प्रहरीका सहप्रवक्ता, एसएसपी उमेशराज जोशी अपराधमा संलग्न जुन देशका नागरिक भए पनि प्रहरीले भेदभाव नगरी कानूनअनुसार कारबाही अघि बढाएको बताउँछन् । सामान्य घटनामा पीडित पक्ष मिलेपछि मिलापत्र गर्नु नौलो नभए पनि ठूला घटना कानुनअनुसार नै तहकिकात गरिएको उनको जिकिर छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech