सार्क मुलुकका वाणिज्य अधिकारीहरुबीच भिडियो वार्ता सम्पन्न, भयो यस्तो निर्णय

  |   प्रकाशित :

काठमाडौं । १५ मार्चमा सार्क सदस्य मुलुकका सरकार तथा राष्ट्र प्रमुखहरुबीच भएको भिडियो कन्फ्रेन्सको ‘फलो–अप’ गरिएको छ । सार्क सदस्य मुलुकका सरकार तथा राष्ट्र प्रमुखहरुबीच भएको भिडियो कन्फ्रेन्सको ‘फलो–अप’ स्वरुप बुधबार सार्क मुलुकका वाणिज्य अधिकारीहरुबीच भिडियो वार्ता भएको हो । 

वार्ताबाट सार्क सदस्यहरुले साफ्टा सुविधा प्राप्त गर्नका लागि भन्सार जाँचपासको समयमा नै उत्पत्तिको प्रमाणपत्र आवश्यक नपर्ने गरी निर्णय गरेका छन् । कोरोना भाइरसको कारण उत्पन्न परिस्थितिलाई ध्यानमा राखेर यस्तो अवधिभरि साफ्टा सुविधा दाबी गरिएबमोजिमको बैङ्क जमानत पेश गरेमा साफ्टा सुविधा प्राप्त गर्ने निर्णय भएको छ । 

आयात–निर्यातमा बैङ्कहरुद्वारा स्वीफ्ट प्रविधिद्वारा भुक्तानी दिने व्यवस्था गर्ने र औषधि तथा खाद्य पदार्थलगायतका अत्यावश्यक वस्तु ओसारपसारलाई प्राथमिकता दिने सहमति पनि सार्क मुलुकका वाणिज्य अधिकारीहरुबीच भएको छ । वार्तामा एकीकृत जाँचपास चौकीहरुमा ओसारपसार हुने मालवस्तु तथा सवारीसाधनको एकीकृत पद्धतिबाट डिस्इन्फेक्टेड गर्ने प्रस्ताव नेपालले राखेको थियो । सो प्रस्तावमा भारत, बंगलादेश लगायतका देशहरुले सकारात्मक प्रतिक्रिया दिएको जनाइएको छ । सम्मेलनमा सहभागीहरुले सार्क मुलुकबीच सहकार्य गरेर अघि बढ्ने र सकेसम्म व्यापारलाई सामान्य अवस्थामा फर्काउनुपर्नेमा जोडसमेत दिएका थिए ।

भिडियो वार्तामा पाकिस्तानबाहेक नेपाल, भारत, अफगानिस्तान, बंगलादेश, भुटान, मालदिभ्स र श्रीलंकाका वाणिज्य अधिकारीहरु सहभागी थिए । भिडियो वार्तामा नेपालको तर्फबाट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालको नेतृत्वमा गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, नेपाल राष्ट्र बैंक र भन्सार विभागका अधिकारीहरु सहभागी थिए ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech