विपक्षी पार्टीका ब्यक्तिहरू कै कारण होम क्‍वारेन्टाइनमा बस्नुपर्योः सांसद प्रदीप यादव 

  |   प्रकाशित :

काठमाडौं । समाजवादी पार्टी नेपालका सांसद प्रदीप यादव आजदेखि होम क्‍वारेन्टाइनमा बसेका छन् । 

सीमावर्ती सहर रक्सौलमा क्वारेन्टाइनमा बसेका नेपालीलाई भेट्न गएका कारण समाजवादी पार्टीका सांसद यादवलाई क्वारेन्टाइनमा राख्न स्थानीय प्रशासनलाई निर्देशन दिएसँगै सांसद यादव होम क्‍वारेन्टाइनमा बसेका हुन् । 

‘मलाई सिडियो साहेबले आज होम क्‍वारेन्टाइनमा बस्नका लागि निर्देशन दिनु भएको छ, म होम क्‍वारेन्टाइनमा बसेको छु’, सांसद यादवले भने, ‘मैले भोलि वीरगञ्जलगायतका हरेक वार्डमा क्‍वारेन्टाइन स्थापना गर्ने घोषणा गर्न लागेको अघिल्लो दिन राजनीतिक प्रतिशोधका कारण गृहबाट निर्देशन गराउने काम भयो।’

उनका अनुसार रक्सौल, भारतस्थित नेपालीहरू क्‍वारेन्टाइनमा बसेको र खानापिनमा समेत समस्या भएको खबर आएपछि उनीहरूलाई हिजो भेट्न गएका थिए।

‘सिडियो साहेवलाई जानकारी गराएर उहाँको अनुमतिपछि मात्रै म रक्सौल गएको हुँ र त्यहाँ मैले समस्यामा परेका नेपालीहरूलाई राहात वितरण गरेर फर्केको हुँ’, उनले भने, ‘त्यसक्रममा आफ्नै गाडीमा हालेर चामल, दाल, पानी, साबुन, स्यानिटाइजरलगायतका सामग्री वितरण गरेको थिएँ।’

मुलुकको प्रमुख नाकामा भेन्टिलेटर, होम क्‍वारेन्टाइन, आइसोलेसन बेड नभएको र त्यसका लागि जनप्रतिनिधिको हिसाबले काम गर्न खोज्दा विपक्षी पार्टीका ब्यक्तिहरूले आफूलाई काम गर्न नदिन होम क्‍वारेन्टाइनमा राखेको उनको आरोप छ। 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech