अमेरिका सम्झौताअनुसारै एमसीसी अनुमोदित भएको हेर्न चाहन्छः एन्डी डी अर्मेन्ट

  |   प्रकाशित :

काठमाडौँ । अमेरिकाले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) नेपालसँग गरेको सम्झौताअनुसारै अनुमोदित भएको हेर्न चाहेको अमेरिकी दूतावासले जनाएको छ ।

नेपालको संसदमा विचाराधीन एमसीसी सम्झौताअनुसारै अनुमोदित भएको हेर्न चाहेको अमेरिकी दूतावासले जनाएको हो । सत्तारुढ दल नेकपाको एक कार्यदलले एमसीसीलाई परिमार्जन गरेरमात्र संसदबाट अनुमोदन गर्नुपर्ने सुझाव दिएको सन्दर्भमा अमेरिकाको यो प्रतिक्रिया आएको हो । अमेरिकाले आफ्नो पुरानै अडान कायम राख्दै उक्त सम्झौता पहिलेको अवस्थामै अनुमोदित भएको हेर्न चाहेको प्रष्ट पारेको हो । 

नेपालस्थित अमेरिकी राजदूतावासकी प्रवक्ता एन्डी डी अर्मेन्टले उक्त सम्झौताले महत्वपूर्ण विद्युतीय र सडक पूर्वाधार निर्माणबाट नेपाली जनताको लागि फाइदाजनक हुनसक्ने उल्लेख गर्दै ‘सम्झौताअनुसारै अमेरिकाले एमसीसी सम्झौता अनुमोदित भएको हेर्न चाहन्छ’ भनेकी छन् । 

२०७६ असार ३० मा अर्थ मन्त्रालयले संसदमा अनुमोदनको लागि दर्ता गरेको उक्त सम्झौताको दस्तावेजलाई लिएर नेकपाभित्र आन्तरिक विवाद भएपछि यो संसदबाट अघि बढ्न सकेको छैन । उक्त दस्तावेज हालसम्म पनि प्रतिनिधि सभाको विधेयक शाखामै थन्किएको छ । 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech