लहानस्थित रामकुमार उमा स्मारक अस्पताललाई कोरोना विशेष अस्पताल बनाउने निर्णयप्रति स्थानीयको विरोध

  |   प्रकाशित :

सिरहा । रामकुमार उमा स्मारक अस्पताललाई कोरोना विशेष अस्पताल बनाउने निर्णयप्रति स्थानीयवासीहरुले विरोध गरेका छन् । लहानस्थित यो अस्पताललाई कोरोना विशेष अस्पता बनाउने प्रदेश सरकारको निर्णयप्रति  विरोध गरेका हुन् ।

यो अस्पताललाई कोरोना विशेष अस्पताल बनाएमा लहान नगरक्षेत्र नै खतरामा पर्न सक्ने भन्दै स्थानीयवासीले प्रदेश नंं २ सरकारको उक्त निर्णयको विरोध गरेका जनाएको छ । अस्पताल परिसरमा पत्रकार सम्मेलन गरी स्थानीयवासीले लहान अस्पताललाई कोरोना अस्पताल बनाउन नहुने बताएका छन् । 

अस्पताल वरिपरि घना बस्ती भएकाले कोरोना अस्पताल बनाइए सम्भावित खतरा हुन सक्ने भन्दै स्थानीयवासीले खाली रहेको लहानस्थित बलान नदी पुल छेउको कभर्ड हलमा कोरोना अस्पताल सञ्चालन गर्न सुझावसमेत दिएका छन् ।

प्रदेश सरकारले अहिले सञ्चालन अवस्थामा रहेको रामकुमार उमा स्मारक अस्पताललाई कोरोना विशेष अस्पताल बनाउने निर्णय गरेका कारण स्थानीयवासी त्रसित बनेकाले प्रदेश सरकारले यो निर्णय सच्याउनुपर्ने स्थानीयवासीले बताए।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech