खान नपाएरै फेरी एकले गुमाए ज्यान, भारी बोक्दै जीवन गुजारेका तामाङ सडकमै फेरे अन्तिम सास

  |   प्रकाशित :

काठमाडौं । कोरोना कहरबीच नेपालमा खाना खान नपाएकै कारण फेरी एक जनाले ज्यान गुमाएको छ । 

कोरोना भाइरसका कारण देशमा गत चैत ११ गतेदेखि जारी लकडाउनका कारण खान नपाएरै धादिङका सूर्यबहादुर तामाङ कीर्तिपुर-१० स्थित मंगल बहुमुखी क्याम्पसअगाडिको सडक पेटीमै आफ्नो अमूल्य ज्यान गुमाएको स्थानियले बताएका छन् । 

केही दिनअघि मात्रै प्रधानामन्त्री केपी शर्मा ओलीले संसदमा गरिवीका कारण कुनै पनि नेपाली ‘कोही भोकै पर्दैन, कोही भोकले मर्दैन’ भनेका थिए । तर, काठमाडौं उपत्यकामै खान नपाएर आइतबार दिउँसो धादिङका सूर्यबहादुर तामाङले ज्यान गुमाए । 

झुत्रा लुगा लगाएका उनी कति बेला ज्यान गुमाए कोहिले थाहा पाएनन्। उनको सोधीखोजी गर्ने मानिस पनि कोही थिएन। तामाङले कोठा लिएका थिएनन्, पाटीमै सुतेर रात काट्थे। सडकमा मृत भेटिएका तामाङले हातमा भारी बोक्ने नाम्लो समातेका थिए। 

स्थानीय वीरेन्द्र शाक्यका अनुसार सूर्यबहादुर वर्षौंदेखि कीर्तिपुरमा भरियाको काम गर्थे। दुई महिनाअघि लकडाउन भएपछि उनले काम पाएनन्। शुक्रबारसम्म उनी विभिन्न संस्थाहरूले बाँडेको खाना खान्थे। 

यसअघि, सप्तरीमा पनि खान नपाएरै एक जनाले ज्यान गुमाएका थिए । केही दिनअघि मात्रै खान नपाएकै कारण सप्तरीको कञ्चनरुप-५ मा मलरा सदाको मृत्यु भएको  स्थानियहरुले बताएका छन् ।

सदाको आर्थिक अवस्था एकदमै कमजोर थियो । यतिसम्मकी उनको दाहसंस्कार गर्न पनि चन्दा उठाएर गरिएको छ । स्थानीयहरुले चन्दा संकलन गरेर कात्रो खरिद गरी मृतक सदाको दाहसंस्कार गरेको स्थानीय अगुवा सदाले बताए ।

स्थानीय अगुवा विश्वनाथ सदाका अनुसार लकडाउन सुरु भएपछि गत सोमबार एक दिन गाउँकै किसानको खेतमा काम गर्न गएका थिए । ४ दिन देखि मलरा सदाले खान पाएका थिएनन् । 

कोरोना भाइरसका कारण विश्व त्रसित छ। विभिन्न देशले सुरक्षित हुनका लागि आफ्नो देश बन्दाबन्दी (लकडाउन) गरेका छन्। नेपाल पनि अहिले पूर्ण रुपमा लकडाउन भएको छ। सरकारले कसैलाई पनि बाहिर ननिस्कन आग्रह गरेको छ।

खाद्यान्न र अत्यावश्यक सेवा बाहेक सम्पूर्ण सेवा बन्द छ। नेपाल भित्रने र बाहिरिने सबै नाका बन्द छन्। यस्तो अवस्थामा नेपालका बिभिन्न ठाउँहरुमा भोकमरीको अवस्था सिर्जना हुनु स्वभाविक भएको स्रोतले दावी गरेको छ । 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech