एमसीसीको विषयमा नेकपाभित्र ‘घमसान’ मच्चियो, कुन पक्षको पल्ला भारी ?

  |   प्रकाशित :

काठमाडौं । अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता सदनबाट पारित गर्ने विषयमा नेपाल कम्युनिष्ट पाटीभित्र घमसान मच्चिएको छ ।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली एमसीसी पारित गर्ने पक्षमा छन् । तर, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ हुबहु पारित गर्न नहुने पक्षमा छन् ।

एमसीसी हुबहु पारित गर्न नहुने पक्षमा रहेकाहरुले प्रधानमन्त्री ओलीले एमसीसी समावेश गर्न स्पष्ट पार्नुपर्ने माग गरेका छन्। उनीहरूले आगामी आर्थिक वर्षको बजेटमा समावेश भएका त्यस्ता परियोजना फिर्ता लिनुपर्ने बताएका छन् । सचिवालयको नौ सदस्यमध्ये बहुमत ५ सदस्य स्पष्ट रुपमा विरोधमा देखिएपनि आगामी आर्थिक वर्षको बजेटमा एमसीसी घुसाइएको छ ।

एमसीसीबारे बजेटमा उल्लेख गरिएपछि ओलीइतरका नेताहरु असन्तुष्ट भएका छन् । सम्झौता भइसकेपनि सदनले एमसीसी पारित गर्नुपर्छ । १५ असारभित्र एमसीसी पारित गरेर १६ असारबाट अनिवार्य कार्यान्वयनमा जानुपर्ने व्यवस्था छ । पारित नभए कार्यान्वयनमा जाँदैन र एमसीसी फिर्ता जान्छ । एमसीसीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिष्ठाको विषय बनाएका छन् ।

नेकपाभित्र एमसीसी परिमार्जन नगरी पारित गर्न नहुने मत बलियो रहेको र प्रधानमन्त्री ओली पारित गराएरै छाड्ने पक्षमा देखिएकाले अबको २८ दिन यो विषयले राजनीति तात्ने देखिदैछ । नेकपाभित्र अब एमसीसी विवादको मुख्य विषय बनेको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech