संसद्बाट पारित नहुन्जेल एमसीसीका कार्यक्रम स्थगन, संसद्ले अनुमोदन गरेपछि मात्र कार्यक्रम अघि बढाउने

  |   प्रकाशित :

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकमा मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसद्ले अनुमोदन गरेपछि त्यससँग सम्बन्धित बजेट र कार्यक्रम अघि बढाउने समझदारी भएको छ । 

नेकपाभित्र एमसीसी सम्झौताका कतिपय प्रावधान राष्ट्रिय हितविपरित भएकाले त्यसलाई परिमार्जन गरेर पारित गर्न आवाज उठेपछि झण्डै एक वर्षदेखि उक्त सम्झौता अनुमोदनको विषय प्रतिनिधिसभामा विचाराधीन छ । सम्झौता अनुमोदन हुँदा बाँकी रहेको अवस्थामा सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम र बजेटमा उक्त परियोजनाअन्तर्गतका कार्यक्रम र बजेट समावेश भएको सन्दर्भमा आज नेकपाको सचिवालय बैठक बसेको हो । 

सचिवालय सदस्यबाहेक स्थायी कमिटी सदस्य भीम रावल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र अर्थमन्त्री डा युवराज खतिवडा पनि आमन्त्रित बैठकमा बजेटमा अनुसूचीमा रहेको वैदेशिक सहयोगको स्रोतमा उल्लेखित एमसिसी विचाराधीन विषय रहेको हुनाले संसद्मा हुने निर्णयबमोजिम हुनेगरी अर्थमन्त्रीले स्पष्ट पार्ने सहमति भएको बैठकपछि पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

संसद्मा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री एवं पार्टी नेकपा अध्यक्ष केपी शर्मा ओलीले दिएको प्रत्युत्तरबमोजिम बजेटमा भाषा स्पष्ट गरिने पनि उनले बताए । बैठकमा हाल परियोजनाका लागि भइरहेका कामको सम्बन्धमा अनुमोदनपछि गरिनुपर्ने कतिपय काम अघि नबढाउने गरी स्थिति बुझेर स्पष्ट पारिने र एमसिसीका बारेमा सचिवालयमा व्यापक छलफल गरी पछि निर्णय गरिने पनि निर्णय भएको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech