गुड्न थाल्यो मयूर यातायात, सर्वसाधारणलाई राहत

  |   प्रकाशित :

काठमाडौं । यातायात व्यवसायीले सरकारसँग विभिन्न माग राखेर सेवा सञ्चालन नगरेपनि मयुँर यातायात प्रालीले भने बस सेवा शुरु गरेको छ । आजदेखि तीन वटा बसबाट सेवा शुरु गरिएको प्रालीले जनाएको छ ।

मयूर यातायातले सोमबारदेखि काठमाण्डौ उपत्यकाको चक्रपथ र चक्रपथ हुँदै काभ्रेको धुलिखेलसम्म सेवा दिन थालेको छ । मयूर यातायात प्रालीका सञ्चालक राज श्रेष्ठका अनुसार सोमबार चक्रपथमा तीन वटा र चक्रपथ हुँदै धुलिखेलसम्म दुई वटा बस सञ्चालन भइरहेको छ, यो सङ्ख्या मङ्गलबारदेखि बढ्दै जानेछ । अहिले मयूर यातायातसँग ४४ वटा गाडी छ । 

श्रेष्ठ भने ‘मङ्गलबारदेखि १५/२० वटा गाडी सञ्चालनका लागि तयारी भइरहेको छ, त्यसको लागि लकडाउनको क्रममा ठाउँठाउँमा रोकिएका गाडीलाई काठमाण्डौ ल्याउने तयारी भइरहेको छ ।’ मयूर यातायातले सरकारले तोकेको स्वास्थ्यसम्बन्धी मापदण्ड अनुसार गाडी चलाएको पनि जनाएको छ । ४०-४१ सिट क्षमताको बसमा सोमबार २० जना यात्रुलाई मात्रै राखेर यात्रा गराइएको छ । 

यस्तै बस चढ्न मास्कलाई अनिवार्य गरिएको छ भने स्यानिटाइजर र पञ्जा पनि अनिवार्य लगाउन मयूर यातायात कम्पनीका सञ्चालक श्रेष्ठको आग्रह छ । उनले बसभित्रै स्यानिटाइजरको व्यवस्था गरेको जानकारी दिए । यस्तै सरकारको निर्णयअनुसार नै यात्रुबाट भाडा लिने गरेको पनि सञ्चालक श्रेष्ठले बताए । सरकारले ५० प्रतिशतसम्म बढाएर भाडा लिन सकिने निर्णय गरेको छ । अहिल यात्रुबाट न्यूनतम भाडा २० रुपैयाँ लिने गरेको मयूर यातायातले जनाएको छ । 

कोभिड-१९ को रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ देखि सार्वजनिक यातायात बन्द गरेकामा गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक यातायात खुलाउने निर्णय गरेको थियो ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech