कोरोनालाई परास्त गर्न न्यूजील्यान्डले कसरी ‘कडा र चाँडै’ कदम चाल्यो ?

  |   प्रकाशित :

काठमाडौं । जुन महिनाको अन्त्यतिर न्यूजील्यान्डमा दुई जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भयो। त्यति बेला विश्वका अरू देशमा दैनिक हजारौँको सङ्ख्यामा सङ्क्रमण देखिँदै थियो। दुई भनेको खासै चिन्ताको विषय होइन।

तर त्यसको २४ दिनअघिसम्म न्यूजील्यान्डमा एक जनामा पनि सङ्क्रमण देखिएको थिएन। क्वारन्टीनसम्बन्धी नियम उल्लङ्घनसँग जोडिएका दुई जनाको सङ्क्रमणको विषय स्वास्थ्यमन्त्रीलाई राजीनामा गर्न बाध्य पार्न पर्याप्त भयो।

उसोभए कोभिड-१९ विरुद्धको लडाइँमा न्यूजील्यान्डको कुन रणनीतिको भूमिका रह्यो त ?

फेब्रुअरी २ तारिखका दिन चीनबाहिर पहिलो पटक फिलिपन्समा एक व्यक्तिको कोरोनाभाइरसबाट ज्यान गयो। त्यो बेलासम्म न्यूजील्यान्डमा कोरोनाभाइरसबाट कोही पनि सङ्क्रमित भएको थिएन। तर त्यसको भोलिपल्टबाट न्यूजील्यान्डले चीनबाट अथवा चीन भएर आउने विदेशीलाई प्रवेशमा रोक लगायो। चीनबाट आउने न्यूजील्यान्डका जो कोही पनि १४ दिन आइसोलेशनमा बस्नुपर्ने व्यवस्था गरियो।

प्रारम्भमै स्थिति नियन्त्रण गर्नुपर्छ भन्ने न्यूजील्यान्डको मान्यता थियो

प्रधानमन्त्री जसिन्डा आर्डर्नले देशको सीमा बन्द गर्ने अभूतपूर्व निर्णय गरिन्

विश्वव्यापी सङ्क्रमण बढिरहँदा इरानको हकमा उडानमाथि प्रतिबन्ध लगाइयो। न्यूजील्यान्डमा इरानबाट आएका व्यक्तिमा पहिलो पटक सङ्क्रमण देखिएको थियो। दक्षिण कोरिया, उत्तरी आयरल्यान्डबाट आउने वा लक्षण देखिने जो कोहीमाथि प्रतिबन्ध लगाइयो। त्यति प्रभावित नदेखिएका प्रशान्त सागरका टापु राष्ट्रहरूबाट बाहेक अरू ठाउँबाट आउनेहरू आफैँ क्वारन्टीनमा बस्नुपर्ने नियम मार्चको १६ तारिखसम्म रह्यो।

प्रधानमन्त्री जसिन्डा आर्डर्नले विश्वकै कडा नियम भएको बताउँदै त्यसका लागि ‘क्षमायाचना चाहिँ नगर्ने’ जनाइन्। त्यसको केही दिनपछि उनले अप्रत्याशित कदम चाल्दै गैरनागरिक वा बासिन्दाको हकमा नाकाबिन्दु पूर्ण रूपमा बन्द गर्न लगाइन्। “केही हजारमा मात्र सङ्क्रमण देखिएका बेला चालिएका कदमले व्यापक रूपमा बढ्न र समुदाय स्तरमा फैलिनबाट रोके,” मेसे विश्वविद्यालयस्थित अर्थशास्त्री प्राध्यापक मार्टिन बेर्काले भने।

चाँडै लकडाउन र निर्मूल पार्ने लक्ष्य

तर प्राध्यापक माइकल बेकरका अनुसार महामारीसम्बन्धी स्तरीय कार्ययोजनाविना सङ्क्रमण नियन्त्रण गर्न सकिँदैन भन्ने कुरा मार्च महिनाको मध्यसम्म प्रष्ट भयो। अहिले न्यूजील्यान्डमा पसल, चमेनाघर र मदिरालयहरू खुलेका छन् ।

चीनको वुहानले ज्यानुअरीको अन्त्यतिर लगाएको लकडाउनको सफलताबारे प्रकाशित प्रतिवेदनले कि सुरमै ती कुरा न्यूजील्यान्डले गर्नुपर्छ र पूर्ण रूपमा निर्मूल गर्ने तर्फ लाग्नुपर्छ भन्ने स्पष्ट पार्‍यो, प्राध्यापक बेकरले भने। तीव्र गतिमा भइरहेको परिवर्तनका लागि मानिसहरूलाई तयार पार्न मार्चको अन्त्यतिर न्यूजील्यान्डले चार तहको नयाँ सतर्कता प्रणाली लागु गर्‍यो।

अहिले न्यूजील्यान्डमा पसल, चमेनाघर र मदिरालयहरू खुलेका छन्

दोस्रो तहबाट आरम्भ भएको प्रणालीलाई मार्च २५ तारिखमा चौथो तहमा पुर्‍याइयो। त्यससँगै देशभरि पूर्ण रूपमा लकडाउन गरियो र अत्यावश्यकबाहेक अन्य सेवामा रोक लगाइयो तथा मानिसहरूलाई घरभित्रै रहन भनियो। त्यति बेला त्यहाँ १०२ जनामा सङ्क्रमण देखिएको थियो भने कसैको मृत्यु भएको थिएन।

प्रभावकारी सञ्चार र नागरिकबाट पालना

प्राध्यापक बेकरका अनुसार लकडाउनको पालना गराउने दिशामा अधिकारीहरूले ‘एकदमै असाधारण’ काम गरे। सङ्क्रमण उत्कर्षमा पुग्दा पनि प्रतिदिन ८९ जनाभन्दा बढीमा देखिएन।

प्राध्यापक बेकरका अनुसार घरभित्रै छ हप्तासम्म बस्नु उत्तम हुने कुरा उनीहरू नागरिकको मन र मस्तिष्कमा गाड्न सफल भए। चाँडै कदम चालेकोमा र अरू देशका लागि उदाहरण प्रस्तुत गरेकोमा विश्व स्वास्थ्य सङ्गठनले न्यूजील्यान्डको प्रशंसा गरेको छ।

निर्मूल पार्न सकियो तर के त्यो दीर्घकालीन होला ?

जुन महिनाको ८ तारिखका दिन प्रधानमन्त्री आर्डर्नले समुदायको स्तरमा नयाँ सङ्क्रमण नदेखिएको र सबै बिरामी पूर्ण रूपमा निको भएको घोषणा गरिन्। “अहिलेका लागि हामीले कोरोनाभाइरस सङ्क्रमणलाई न्यूजील्यान्डमा निर्मूल पारेको कुरामा हामी ढुक्क छौँ।”

अहिले न्यूजील्यान्डमा जनजीवन सामान्य देखिएको छ

लकडाउन हटाइएको छ भने सामाजिक दूरीसम्बन्धी नियमबीच जनजीवन सामान्य भएको छ। तर विदेशीको हकमा सीमा बन्द र त्यो कहिले खोलिनेछ भन्ने कुराको सङ्केत पाइएको छैन। सीमा खोलिँदा जोखिम निम्तिने कुरा एक हप्ता स्पष्ट भयो जब यूकेबाट फर्किएका दुई महिलामा सङ्क्रमण देखियो।

तर सीमा बन्द राख्ने निर्णयबारे केही प्रतिक्रिया पनि सुनिन थालेका छन्। पूर्वप्रधानमन्त्री हेलेन क्लर्कसहित प्रभावशाली व्यक्तिले न्यूजील्यान्ड कहिलेसम्म संसारका लागि बन्द रहने भन्ने विषयमा विचार गर्नुपर्ने बताएका छन्।

के देश सानो भएकैले यो सम्भव भएको हो ?

अलग रहेकोले र तुलनात्मक रूपमा कम जनघनत्व रहेकोले पक्कै पनि उसका प्रयासमा सघाउ पुग्यो तर त्यो सामान्य फाइदा पुर्‍याउने पक्ष मात्रै भएको प्राध्यापक बेकर बताउँछन्। “काम गर्ने सरकार र पूर्वाधार भएको जुनसुकै देशमा यो रणनीतिले काम गर्छ,” उनले भने।

त्यस क्रममा उनले भियतनाम, ताइवान र चीनको उदाहरण दिए। चर्चा गर्न लायक एशियाको ताइवानले आश्चर्यलाग्दो सफलता हासिल गरेको र उत्कृष्ट निर्देशन प्रदान गरेको प्राध्यापक बेकर बताउँछन्।-बीबीसी

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech