ओलीको अभिव्यक्तिप्रति साधुसन्त आक्रोशित, अभिव्यक्ति फिर्ता नलिए आन्दोलन गर्ने चेतावनी

  |   प्रकाशित :

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय दिएको अभिव्यक्तिप्रति जनकपुरका साधुसन्तहरु आक्रोशित बनेका छन् ।

त्रेता युगकालिन भगवान रामको जन्मस्थलबारे ओलीले दिएको अभिव्यक्तिप्रति जनकपुरका साधुसन्तहरु आक्रोशित बनेका हुन् । साथै प्रधानमन्त्री ओलीको अभिव्यक्तिले विश्वभरका हिन्दु धर्मावलम्वीहरुको आस्थामा ठेस पुगेको उनीहरुकाचे ठहर छ । 

बुधबार रामानन्दिय श्री बैष्णव संघले एक विज्ञप्तिमार्फत प्रधानमन्त्री ओलीको अभिव्यक्तिले विश्वभरका हिन्दु धर्मावलम्वीहरुको आस्थामा ठेस पुगेको जनाएको छ । साथै ओली अभिव्यक्ति फिर्ता नलिए आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन् । 

संघका महासचिब नोवल किशोर शरणद्वारा हस्ताक्षरित विज्ञप्तिमा ‘सनातन हिन्दु धर्मग्रन्थ तथा हिन्दु धर्मावलम्वीका अनुसार भगवान श्रीरामको जन्मस्थल भारत उत्तरप्रदेशको पवित्र सरयु नदीको किनारमा अवस्थित अयोध्या तथा जगत जननी श्री सिताको जन्मस्थल नेपालको जनकपुर रहेको छ,’ भनिएको छ ।

संघले नेपाल–भारतको सदियौंदेखिको सम्बन्धमा खलल पुगेको, रामायण रचियता भानुभक्त आचार्यको अपमान भएको पनि ठहर गरेको छ । प्रधानमन्त्री ओलीले उक्त अभिव्यक्ति तत्काल फिर्ता लिएर हिन्दुधर्मको सम्मान गर्न संघले माग गरेको छ । 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech