ट्रम्प चीनप्रति लगातार कडा हुँदै, चीनमाथि अमेरिका र बेलायतको एकैसाथ हमला

  |   प्रकाशित :

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको व्यवहार चीनप्रति लगातार कडा हुँदै गएको छ ।

ट्रम्पले एक आदेश पारित गर्दै हङ्गकङको विशेष दर्जा समाप्त गरेको जानकारी दिएका छन् । ह्वाइट हाउसमा पत्रकासँगको कुराकानीमा राष्ट्रपति ट्रम्पले भने, ‘अब अमेरिकाले चीनसँग जस्तो व्यवहार गर्दै आएको छ, हङ्गकङसँग पनि ठ्याक्कै त्यस्तै गर्नेछ ।’

ट्रम्पले हङ्गकङमा अधिकारको उल्लंघन गर्ने चिनियाँ अधिकारीमाथि प्रतिबन्ध लगाउने नयाँ अध्यादेश पारित गरेको पनि जानकारी दिएका छन् । चीनले हङ्गकङमा नयाँ सुरक्षा कानून लागू गरेपछि अमेरिकाले विशेष दर्जा खारेज गरेको हो ।

मंगलबारको पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘कुनै विशेष दर्जा छैन, कुनै विशेष आर्थिक छुट छैन र संवेदनशील प्रविधीको कुनै कारोबार छैन ।’ बेलायती उपनिवेश रहेको हङ्गकङले चीनमा विशेष दर्जा र केही यस्ता अधिकार प्राप्त गरेको छ जुन मुख्य चीनका जनतालाई समेत दिइएको छैन ।

तर हालका वर्षमा चीन हङ्गकङ प्रति कडा भएको छ । केही दिन अघि लागू गरिएको नयाँ सुरक्षा कानूनलाई थुप्रै हङ्गकङबासीले यो स्वायत्त क्षेत्रको विशेष दर्जा समाप्त हुन लागेको अनुमान गरेका छन् ।

बेलायतले हङ्गकङलाई सन् १९८९ मा चीनलाई सुम्पिएको थियो । त्यतिबेला एक सम्झौता अनुरुप हङ्गकङलाई विशेष दर्जा दिइएको थियो । तर चीनको आलोचना गर्नु अपराध हो भनेर व्याख्या गर्ने नयाँ सुरक्षा कानून लागू भएपछि हङ्गकङमा धेरे कुराको परिवर्तन भएको छ ।

ह्वाइट हाउसमा पत्रकारसँगको कुराकानीमा ट्रम्पले चीनका राष्ट्रपति शी जिनपिङसँग कुराकानी गर्ने कुनै योजना नभएको स्पष्ट पारेका छन् ।

हङ्गकङको विशेष दर्जा समाप्त गर्दा के हुन्छ ?

अमेरिकी राष्ट्रपतिको यो कदम हङ्गकङमा संचालित अमेरिकी कम्पनीका लागि टाउको दुखाई हुनसक्छ । यसको संख्या १३ सय बढी छ । अमेरिकी नागरिक हाल भिसा बिना नै हङ्गकङको यात्रा गर्न सक्छन् । अब उनीहरुले चीनको कडा भिसा नियमको सामना गर्नुपर्ने हुन्छ ।

हङ्गकङको उत्पादनमा अमेरिकामा कम कर लाग्थ्यो । अब यो समाप्त हुनसक्छ जसका कारण अमेरिका र हङ्गकङबीच हुने अर्बौं डलरको व्यापार प्रभावित हुनसक्छ । विश्लेषकका अनुसार एक विश्वव्यापी आर्थिक हबको रुपमा हङ्गकङको पहिचान बिस्तारै बिलाउन सक्छ । चीनका लागि यो अन्तरराष्ट्रिय वित्तिय बजारको ढोका पनि हो अब यो बन्द हुनसक्छ ।-बीबीसी   

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech