राष्ट्रपति र प्रधानमन्त्री ज्यू ! मदन भण्डारीका हत्यारा पत्ता लगाउन किन डराउनुभएको ?

नेपाल पाना प्रकाशित: २०७५-२-३ गते | 10209 पटक हेरिएको
राष्ट्रपति र प्रधानमन्त्री ज्यू ! मदन भण्डारीका हत्यारा पत्ता लगाउन किन डराउनुभएको ?

बाबु नेपाली

काठमाडौं । बहुदल आइसकेपछि एकाएक सर्वसाधारणको समीपमा रहेर नेकपा मालेका पूर्व महासचिव मदन भण्डारीले भाषण गर्दा यस्तो लाग्थ्यो कि नेपालमात्र होइन विश्वलाई नै समृद्ध पार्न भगवानले नै उनलाई यो धर्तीमा पठाएका हुन् । मदन भण्डारी हुँदा एक गासमात्र खाएका गरीवगुरुवाले पनि हाँसिखुशी उनलाई आशीर्वाद दिन्थे । 

मदन भण्डारी विचारलेमात्र होइन व्यवहारले पनि अब्बल थिए । सादा जीवन उच्च विचार उनको नीति नै थियो । उनले तत्कालीन राजा वीरेन्द्रलाई श्रीपेच राखेर मैदानमा आउने हो भने चुनावमा जितेर देखाइदिने भाषण गरेर सबै नेताहरुको ध्यान आकृष्ट गर्न सफल भएका थिए । 

उनको वाहीवाही सम्भवतः कसैलाई पच्ने अवस्थाकै थिएन । उनी तिनै मदन भण्डारी थिए जसले ०४८ सालको निर्वाचनमा तत्कालीन प्रधानमन्त्री एवं नेपाली काँग्रेसका नेता कृष्णप्रसाद भट्टराईलाई ७५१ मतले हराएर तत्कालीन काठमाडौं क्षेत्र नम्बर १ बाट सांसद बन्न सफल भएका थिए । 

भट्टराईको ओज त्यतिबेला निकै चुलिएको थियो । ०४६ चैत २६ गते बहुदल आइसकेपछिका अन्तरिम प्रधानमन्त्री बनेका भट्टराईकै नेतृत्वमा नेपालको संविधान २०४७ आएको थियो । 

त्यो संविधानलाई लामो समयसम्म विश्वकै उत्कृष्ट संविधान भन्दै आएको अवस्था थियो । तिनै भट्टराईलाई हराएर मदन भण्डारीले आफ्नो ओजलाई झनै बढाएका थिए । 

तिनै मदन भण्डारीको ओज र उनको ‘जनताको बहुदलीय जनवाद’ सिद्धान्तले जरो गाड्दै गइरहेको थियो । यस्तो लाग्थ्यो नेपालको सबैभन्दा शिखरमा एक दिन उनै पुग्नेछन् । 

कल्पनाको सागरमा धेरै डुबे होलान् । तर अचानक तिनै भरोसालायक र नीतिमा स्पष्ट राजनेताको ०५० साल जेठ ३ गते पोखरामा भएको महिला संगठनको कार्यक्रम सकेर काठमाडौं फर्कने क्रममा चितवनको दासढुंगामा जीप दुर्घटनामा परेर निधन भयो । 

मदन भण्डारीसंगै एमालेका संगठन विभाग प्रमुख जीवराज आश्रितको पनि निधन भयो । आश्चर्य रुपले जीपका चालक दुर्घटनाबाट बाँच्न सफल भए । 

त्यो घटनाले कम्युनिष्टमात्र होइन देशमा विकास चाहने हरेक दलका नेतालाई झस्कायो । पत्याउने गाह्रो भयो । उनलाई दैवले नै चुँडेर लग्यो । अल्पायुमा उनको निधन स्वभाविक थिएन । 

कसैलाई पनि विश्वास लागेन कि त्यो दुर्घटना भवितव्य थियो । अधिकांशलाई लाग्यो त्यो दुर्घटना गराइएको थियो । 

एमालेले सरकारलाई छानबिन गरी सत्यतथ्य पत्ता लगाउन दबाब दियो । एमालेले तत्कालीन सरकारको नेतृत्व गरिरहेको काँग्रेसलाई नै हत्याको दोष लगायो । सरकार नै हत्यामा सामेल भएको आरोप काँग्रेसले बेहोर्यो । 

तर अर्को वर्ष नै एमालेको सरकार आयो । एमालेले अब त सरकारमा भएपछि मदन भण्डारी र जीवराज आश्रितका हत्यारा पत्ता लगाउला भन्ने अनुमान ‘अबुझ’ जनताले सोचे । 

सरकारमा भएका बेलामा एमालेले यो कुरालाई उठाउने कष्ट नै गरेन । त्यसो त त्यतिबेला हत्याको छानबिन गर्न केपी शर्मा ओलीको अध्यक्षमा आयोग नै गठन भयो । 

त्यो आयोगले भलै सरकारबाट सहयोग नभएको आरोप लगायो काम भने गर्न सकेन । अर्थात् यो विषयलाई राजनीतिक मुद्दामात्र गराइयो । 

नेपाली सर्वसाधारण त्यतिबेला अझ बढी झस्किए जतिबेला चालक अमर लामाको पनि रहस्यमय तरिकाले हत्या भयो । ०६० सालमा अमर लामालाई मारियो । 

अमर लामा नै चालक थिए उक्त दुर्घटना हुँदा । ०६० सालसम्म अर्थात् १० वर्षसम्म जिबित हुँदा उनले कतै पनि त्यो घटनाबारे साँचो कुरा बताएनन् । रहस्य खुल्ने खतराले लामाको हत्या गरिएको भन्ने पनि आयो । 

तिनै लामाका हत्यारा पनि अहिलेसम्म पत्ता लाग्न सकेनन् । तीनै जनाको मृत्यु रहस्यमयी भइरहेको छ । 

तर शंका उपशंका भने पहिलेदेखि नै गर्दै आरोप प्रत्यारोप लाग्दै आएको छ । विशेषगरी एमालेभित्रै पनि शंका गर्दै नेताहरुले आपसमा हिलो छ्याप्ने काम गरेकै हुन् । 

२५ वर्षसम्म पत्ता लाग्न नसकेको हत्याराको कुरो अब पत्ता लाग्ने सम्भावना विरलै छ । दुर्घटना नै थियो भने अमर लामालाई किन चुप लाग्न लगाइयो ? हत्या थियो भने किन खुल्न सकेन ? के हत्याराहरु अहिले पनि स्थायित्वमै छन् त ? 

प्रश्न विद्यादेवी भण्डारीलाई 
०३९ सालमा तत्कालीन नेकपा मालेका महासचिव मदन भण्डारीसंग विद्याले भूमिगत अवस्थामै विवाह गरेकी थिइन् । उनका दुई छोरीहरु पनि छन् । जेठी छोरी उषाकिरण र कान्छी निशाकुशुम हुन् । 

विद्यादेवी राजनीतिक रुपले अग्रस्थानमा थिइनन् । तर मदन भण्डारीको निधनपछि उनी अगाडि आइन् । उनी शोकमै रहेका बेलामा मदन भण्डारीको निधनपछि काठमाडौं क्षेत्र नम्बर १ को उपनिर्वाचनमा उम्मेदवार भइन् । 

प्रतिद्धन्द्धी फेरि पनि कृष्णप्रसाद भट्टराई नै भए । तर जितिन् विद्याले । त्यसपछि विद्याले कहिल्यै पछाडि फर्कन परेन । निरन्तर उनी एमालेको नेतृत्व तह वरिपरि रहिन् । महिला संगठन प्रमुख भइन् । पार्टीको उपाध्यक्ष भइन् । राष्ट्रपति पनि भइन् । 

विद्या दुई पटक राष्ट्रपति भएकी छिन् । उनको जस्तो अवसर नेपालको कुनै पनि व्यक्तिले पाउन सकेको छैन । उनी मुलुकको सर्वोच्च स्थानमा रहँदा पनि उनका पतिका हत्यारा पत्ता लगाउन सकिएन । 

विद्याले जहिल्यै दुःखेसो पोख्ने गर्छिन् कि मदन भण्डारीका हत्या नै भएको हो । यदि हत्या भएको हो भने सर्वोच्च पदमा भएको व्यक्तिले यो घटनालाई पत्ता लगाउन किन संयन्त्र प्रयोग गर्न सक्दैन ? 

०५० सालमा जुन घटना भयो त्यतिबेला सरकार एमालेको थिएन । त्यसैले सहयोग भएन होला अनुसन्धानका लागि त्यसपछि पटक पटक सरकार एमालेका बने । खोइ त ? अब त एमालेलाई प्रश्न गर्ने बेला आएको छ खोइ त मदन भण्डारीका हत्यारा पत्ता लगाउन पर्दैन ? 

तिनै मदन भण्डारीको नीति र व्यक्तित्वकै कारण विद्यादेवी राष्ट्रपति जस्तो गरिमामय पदमा पुगिन् । तर आज तिनै विद्याले हत्यारा पत्ता लगाउनका लागि कुनै पहल नगर्नु राजनीति शिवाय के हुन सक्ला ? 

केपी शर्मा ओलीलाई प्रश्न 
केपी शर्मा ओली मदन भण्डारीको दुर्घटनाको सत्यतथ्य छानबिन गर्न गठित समितिका अध्यक्ष हुन् । उनले केही पनि पत्तो लगाएनन् । केवल असहयोगी दोष काँग्रेस सरकारलाई लाग्यो । जबकि काँग्रेसले केही गरेजस्तो कतैबाट पनि आएन । 

तर मदन भण्डारीका हत्यारा पत्ता लगाउन भन्दै दवावस्वरुप संसद अवरुद्ध गर्नेदेखि सडक तताउनेसम्मको काम एमालेले गरेको थियो । 

आजको दिनसम्म आइपुग्दा एमालेका चार जना त प्रधानमन्त्री नै भए । स्वर्गीय मनमोहन अधिकारी, माधवकुमार नेपाल, झलनाथ खनाल र केपी ओली । 

केपी ओली प्रधानमन्त्री भएपछि यो घटनालाई उजागर गर्छन् कि भन्ने लागेको थियो । त्यो सम्भावना उनले पनि ल्याएनन् । ओली दुई पटक प्रधानमन्त्री भइसकेका छन् । उनले अझै पनि हत्यारा पत्ता लगाएरै छाड्ने बताएका छन् । 

आखिर के यो पनि राजनीतिकै पाटो हो त ? होइन भने प्रधानमन्त्री ओलीलाई कुन शक्तिले रोकेको छ हत्यारा पत्ता लगाउन ? होइन भने मदन भण्डारीको नाम जोडेर राजनीति गर्न अब बन्द पो गर्ने हो कि !


नवीना लामालाई खुल्ला पत्रः माननीय ज्यू, नेपालमा जनजातीलाई रुचाइदैन नी ! थेप्चो नाक बलिको बोका मात्रै होर ?
नवीना लामालाई खुल्ला पत्रः माननीय ज्यू, नेपालमा जनजातीलाई रुचाइदैन नी ! थेप्चो नाक बलिको बोका मात्रै होर ?

माननीय सांसद नवीना लामा ज्यू नमस्कार, कुशल रही कुशलताको कमना गर्दछु । तपाईंलाई सम्बोधन गरेर यो खुल्ला पत्र लेख्न धेरै दिनदेखि हिम्मत जुटाउन सकिरहेको थिएन तर आज हिम्मत..

प्रदेश २ का संसद उपेन्द्र महतो ले खुला पत्र मार्फत प्रधानमन्त्री ओली लाई दिए यस्तो दनक, बालुवाटारमा खैलाबैला ।
प्रदेश २ का संसद उपेन्द्र महतो ले खुला पत्र मार्फत प्रधानमन्त्री ओली लाई दिए यस्तो दनक, बालुवाटारमा खैलाबैला ।

आदरणीय प्रधानमन्त्री ज्यू, तपाईको जनकपुर आगमन र प्रदेश सभालाई सम्बोधन गर्ने खबर विभिन्न संचार माध्यमबाट अवगत भयो। प्रधानमन्त्रीको आगमन प्रदेशवासीको लागी हर्ष र उल्लासको विषय..

डा. गाेविन्द केसीलार्इ एक युवाले लेखे यस्तो मार्मिक पत्र, के होला असर?
डा. गाेविन्द केसीलार्इ एक युवाले लेखे यस्तो मार्मिक पत्र, के होला असर?

अादारणीय डा. गाेविन्द केसी ज्यू, डा. गाेविन्द केसी ज्यू तपाइकाे देशलार्इ अझैपनि खाँचाे रहेका छ। तपार्इ अगाडी अाएर देशमा रहेका बेथितिलार्इ ठिक पार्न सक्ने क्षमतावान हुनुहुन..

‘नेपालमा कम्युनिष्ट शासन होइन, पक्षपाती शासनको सुरु भयो’
‘नेपालमा कम्युनिष्ट शासन होइन, पक्षपाती शासनको सुरु भयो’

- रामचन्द्र पाैडेल जिल्ला सभापतिहरुको भेलाले अन्यौलता र निराशामा रहेका देशभरका कार्यकर्ताहरुलाई एकहदसम्म आश्वस्त पार्ने काम गरेको छ । सभापतिहरुले आफ्ना कुराहरु निर्धक्क राख..