एमाले नेताकै खुलासाः महाकाली सन्धिका प्रमुख डिजाइनर केपी ओली हुन्, जसले पार्टीसम्म फुटाए

प्रकाशित: २०७४-९-१५ गते | 2351 पटक हेरिएको
एमाले नेताकै खुलासाः महाकाली सन्धिका प्रमुख डिजाइनर केपी ओली हुन्, जसले पार्टीसम्म फुटाए

– राधाकृष्ण मैनाली

महाकाली सन्धिको विरोधमा जाँदा अन्ततः पार्टी फुट्छ भनेर मैले धेरैपटक साथीहरूसँग कहेँ । राष्ट्रवाद र राष्ट्रघातजस्तो गम्भीर विषय उठिसकेपछि पार्टी एक ढिक्का भइरहन गाह्रो पर्नु स्वाभाविकै हो ।

नेपालगञ्जमा हुन गइरहेको छैटौं महाधिवेशनको मिति नजिकिँदै थियो । मैले माधवकुमार नेपालसँग महाकालीको मुद्दा उक्त महाधिवेशनमा ल्याउँदा पार्टी फुट्छ भनेर ठोकुवा गरेको थिएँ । त्यसैले महाधिवेशनमा महाकालीको मुद्दालाई मुख्य मुद्दा नबनाउन आग्रह गरें ।

फरक मत राख्ने साथीहरूसँग म कुरा गर्छुसम्म भनेको थिएँ, माधवसँग । केन्द्रीय समितिको संख्यामा मिलाएर भए पनि महाकाली सन्धिको मुद्दालाई महाधिवेशनमा मूल विषय नबनाउन पटक-पटक प्रस्ताव गरें । मेरो अर्को भनाइ थियो, ‘फरकमत राख्ने साथीहरू कसैलाई पनि केन्द्रीय सदस्यबाट कसैलाई नहटाऊँ । बरू त्यसका लागि केन्द्रीय सदस्य संख्या केही बढाऊँ ।’

तर बहुमतले निर्णय गरिसकेको विषय भएकाले माधवले महाधिवेशनमा आफूलाई बलियो ठाने र यो विषयलाई मुख्य मुद्दाको हैसियत दिए । त्यति मात्र होइन, माधवले केन्द्रीय सदस्य संख्या स्वात्तै कटाएर असहमत पक्षका आठ जनालाई मात्रै केन्द्रीय कमिटीमा ल्याउने प्रस्ताव गरे ।

मलाई लाग्छ, यो गुप्त खेलका डिजाइनर केपी ओली थिए । केपीको खेलका सामु माधवको अल्पदृष्टि निर्णायक मोड बन्यो । मैले भनेको नमान्नेलाई तह लगाइदिन्छु भन्ने सोचबाट माधव अघि बढे र औपचारिक रुपमा पार्टी विभाजन भयो, ०५४ साल फागुन २१ गते ।

वामदेव र सीपीबीच खटपट, फेरि पार्टी एकता

पार्टी दुई फ्याक भएपछि एमालेलाई घाटा त भयो नै, नयाँ पार्टी मालेसमेत जन्मजातै रोगायो । मालेका शीर्षस्थ नेताद्वय सीपी र वामदेवबीच सुरूमै समस्या देखियो ।

सीपी सानो समूह बोकेर पार्टीभित्रका सदावहार विपक्षी बनिरहन खोेजे । बामदेव सीपीलाई नेता मान्न तयारै भएनन् । बामदेवमा एक नम्बरको नेता मै हुँ भन्ने अहम् बढिरहृयो । कतै जाँदा, हिँड्दा, बस्दासमेत बामदेवले आफूलाई राष्ट्रकै पहिलो नम्बरको नेता हुँ भन्ने भाव देखाउन खोजिरहे । यस्तो प्रवृत्तिले पार्टी चलाउन कठिन बन्दै गयो ।

यही मौका पारेर माधवले बामदेव र सिद्धिलाल सिंहलाई एमालेमा फर्काउन फकाउन थाले । उनी सिंगो मालेलाई होइन आफूलाई मन परेका खास-खास नेताहरूलाई छिमलेर एक्लाएक्लै एमालेमा फर्काउन चाहन्थे । म र सीपीलाई भने फर्काउन चाहँदैनथे । म ठोकुवाका साथ भन्न सक्छु, माधव हामी दुई दाजुभाइलाई भित्रैदेखि पूर्वाग्रही आँखाले हेर्थे । उनले मलाई व्यक्तिगत रुपमा कहिल्यै असल नजरले हेरेनन् ।

मालेको केन्द्रीय समितिले एमालेसँग एकता गर्ने निर्णय गर्न नसकेपछि मात्र माधवले मलाईसमेत बोलाएर एकता वार्ता गर्न थालेका हुन् ।

मसँगको वार्तामा माधव बडो हार्दिक हाउभाउको आवरणमा प्रस्तुत भएका थिए । उनले विगतमा आफूबाट धेरै गल्ती भएको पनि स्विकारे । एउटै विचार, चिन्तन र गन्तव्य भएका दुई पार्टी अलग अलग बाटो हिंड्नुभन्दा सँगै यात्रा गर्दा सहज हुने बताए । ‘महाकाली सन्धिबाहेक माले र एमालेका समान उद्देश्य, व्यवहार, सिद्धान्त भएकाले एकै ठाउँ हेलिएर अघि बढौं,’ माधवले धेरैपटक मसँग भनें ।

तत्काल गरिएको सांगठनिक सहमतिहरू आठौं महाधिवेशनसम्म लागू गरेर जाऔं भन्ने प्रस्ताव राखे । यी कुरा हुँदासम्म मलाई स्थायी समिति सदस्यमा कुनै पनि मूल्यमा नछुटाउने वचन दिएका थिए । मैले सोचें, राजनीतिको आधार र विश्वास भनेकै वचन हो । वाचा गरिसकेपछि किन कुनै तमसुक खोजिरहनु ? गम्भीर मुद्रा र दयनीय हाउभाउसहित प्रस्तुत भएका माधवको अवस्थाले म उनीप्रति वशीभूत भएँ र आफ्नो बलबुँताले भ्याएसम्म पार्टी एकीकरणको बाटोमा लागें ।

त्यसपछि हामी बामदेव, सिद्धिलाल र म मालेभित्र एकताका पक्षमा बहुमत जुटाउने कसरतमा लाग्यौं । बामदेव निकट भनेर चिनिएका किरण गुरूङ, खेमनारायण ढुंगाना, केशवलाल श्रेष्ठ, त्रिलोचन ढकाल, शारदा सुवेदी, दलबहादुर रानाहरू कुनै पनि हालतमा एमालेमा फर्कने पक्षमा थिएनन् । घनश्याम भुसालले पनि फर्कन रूचि देखाएका थिएनन् । हामीले निकै प्रयत्न गरेर उनीहरूलाई मनायौं । एकता प्रक्रियाको शुरुमा बामदेव एक्लो थिए । मैले एकताको पक्षमा साथ दिएपछि मात्रै बहुमत पुग्यो ।

माधव नेपालले गरेका प्रतिवद्धतालाई व्याख्या गरेर एकताका विपक्षमा रहेका साथीहरूलाई मनाइयो । एकता प्रक्रियाको पहलकदमीमा सुरु-सुरुका दिनमा सीपीले नै अगुवाइ गरेका थिए । हामीलाई थाहै नदिई सीपी धेरैपटक माधवको घरमा पुगेका रहेछन् । सीपीको भरमा मात्र एकता समिति नबनेपछि माधवले मलाई सीपीसँग भएका सबै कुरा खोलेका थिए ।

त्यसपछि दुवै पार्टीबाट एकताको कमान्ड गर्नेहरू छानिए । मालेका तर्फबाट बामदेव गौतम, किरण गुरूङ र म एमालेको तर्फबाट माधवकुमार नेपाल र युवराज ज्ञवाली एकता कमान्डमा छानिए । वार्तामा छैटौं महाधिवेशनअघिको सांगठनिक हैसियत सबै नेता कार्यकर्ताहरूलाई दिइने टुंगो भयो ।

अनि माधवकै छाँयामा उभिएँ

अन्ततः विभाजनको चार वर्षपछि ०५८ फागुन ४ गते एमालेृ र मालेवीच पार्टी एकता भयो । त्यही दिन बिहान मालेको केन्द्रीय कमिटी बैठकले गुटविहीन रुपमा एमालेमै फर्किएर एकीकरणको सहमतिअनुसार काम गर्ने माइन्युट गर्‍यो । निर्णयअनुसार दिउँसो १ बजे पत्रकार सम्मेलन गर्ने कार्यक्रम बन्यो । सम्मेलनलाई वामदेव र सीपी दुवैले सम्बोधन गर्ने तय भयो ।

पत्रकार सम्मेलनमार्फत बामदेवले पार्टी एकीकरणको घोषणा गरे । त्यस बेलासम्म मञ्चमा मौन रहेका सीपी अचानक जुरूक्क उठेर बोलेछन्, ‘मचाहिँ एकताका पक्षमा छैन । एमालेमा फर्कन्नँ ।’

एकता घोषणासभामा सीपीले एकाएक त्यसो भन्दा उपस्थित नेता, कार्यकर्ता चकित परेर मुखामुख गर्न थालेछन् । सुरुवाती दिनमा एकताको नेतृत्व गरेका सीपीले त्यसअघि कहीँ त्यस्तो आभाससमेत दिएका थिएनन् । एउटै ड्यासमा बसेर बामदेवले एकताको घोषणा गरेपछि सीपीले म जाँदिनँ भन्नु राजनीतिक संस्कार थिएन ।

मलाई त्यसबेला मधुमेह रोगले भेटिसकेको थियो । जहाँ पायो, त्यहीँ खाना खान्नथेँ । पार्टी एक हुने भएपछि म दंग पर्दै खाना खान घरतिर हिंडेँ । एकता घोषणा कार्यक्रममा उपस्थित हुन भ्याइनँ । तर, एक डेढ घन्टाभित्रै एकमतले गरेको पूर्वनिर्णय बिथोलिइसकेछ । हामी सहोदर दाजुभाइ भए पनि सीपीले दाजु सम्झेर म एमालेमा नर्फकने भएँ भनी एकै वचन सुनाएनन्, सल्लाह गरेनन् ।

सीपीको निर्णयका कारण मैले आफू संकटमा फसेको अनुभव गरेँ । मनमा चिसो पस्यो । किनभने माधवले मलाई नचाहँदा नचाहँदै बाध्य भएर एमालेमा स्वागत गर्दै थिए । वामदेवको स्वाभाव भरपर्दो थिएन । आफ्ना लागि सानै केही पाउने भए पनि वामदेव पुलकित बनेर एउटा कुनातिर लागिहाल्थे । समूहको स्वार्थभन्दा व्यक्तिगत र गुटगत स्वार्थ हेर्ने वामदेवको आनीबानीसँग म परिचित मात्र होइन, आजित थिएँ ।

सीपी अर्कैतिर लागेपछि मलाई आपत पर्‍यो । तर, उनीसँग फर्किएर छेउमा ठाउँ देऊ भनेर जान मेरो स्वाभिमानले छेक्यो । अहिले सोच्छु, ममा पनि अहं टाँसिएको रहेछ । हुन त सीपीसँगै गएको भए पनि त्यसले मलाई फाइदा नहुने निश्चित थियो । दाजुभाइबीचको राजनीतिक सम्बन्धबारे म नेपाली कांग्रेसका नेताद्वय मातृका-बीपीबीचको मनमुटाव र कार्यशैलीबाट परिचित थिएँ । मनमोहन र सहाना साली-भेना भए पनि उनीहरूबीच मन फुकाएर सहकार्य नभएको नजिकबाट देखेको थिएँ । दाजुभाइबीच त्यस्तो उतारचढावको सम्बन्ध नेपाली राजनीतिमा फेरि नहोस् भन्ने मेरो कामना थियो । त्यही भएर सीपीको चौतारीमा ढाक्रो बिसाउन गइँन । माधवकै चौतारी छेउमा टेकुवा टेकेर सुस्ताउने गरी एकीकरणलाई स्वीकार गरें ।

तर माधवले वचनको तमसुक च्याते । पार्टी एकीकरण भएको दुई महिनापछि सातौं महाधिवेशन भयो । महाधिवेशन भएपछिको केन्द्रीय समितिको दोस्रो बैठकमा पुग्दा नपुग्दै माधवले मलाई कारबाही गरेर पार्टीबाट निष्कासन गरे । वचन पालना नगर्ने नेपाली राजनीतिको पासोमा सेरिएँ, म ।

(एमालेका संस्थापक नेता राधाकृष्ण मैनालीको संस्मरणात्मक पुस्तक नलेखिएको इतिहासको एक अंश)


नवीना लामालाई खुल्ला पत्रः माननीय ज्यू, नेपालमा जनजातीलाई रुचाइदैन नी ! थेप्चो नाक बलिको बोका मात्रै होर ?
नवीना लामालाई खुल्ला पत्रः माननीय ज्यू, नेपालमा जनजातीलाई रुचाइदैन नी ! थेप्चो नाक बलिको बोका मात्रै होर ?

माननीय सांसद नवीना लामा ज्यू नमस्कार, कुशल रही कुशलताको कमना गर्दछु । तपाईंलाई सम्बोधन गरेर यो खुल्ला पत्र लेख्न धेरै दिनदेखि हिम्मत जुटाउन सकिरहेको थिएन तर आज हिम्मत..

प्रदेश २ का संसद उपेन्द्र महतो ले खुला पत्र मार्फत प्रधानमन्त्री ओली लाई दिए यस्तो दनक, बालुवाटारमा खैलाबैला ।
प्रदेश २ का संसद उपेन्द्र महतो ले खुला पत्र मार्फत प्रधानमन्त्री ओली लाई दिए यस्तो दनक, बालुवाटारमा खैलाबैला ।

आदरणीय प्रधानमन्त्री ज्यू, तपाईको जनकपुर आगमन र प्रदेश सभालाई सम्बोधन गर्ने खबर विभिन्न संचार माध्यमबाट अवगत भयो। प्रधानमन्त्रीको आगमन प्रदेशवासीको लागी हर्ष र उल्लासको विषय..

डा. गाेविन्द केसीलार्इ एक युवाले लेखे यस्तो मार्मिक पत्र, के होला असर?
डा. गाेविन्द केसीलार्इ एक युवाले लेखे यस्तो मार्मिक पत्र, के होला असर?

अादारणीय डा. गाेविन्द केसी ज्यू, डा. गाेविन्द केसी ज्यू तपाइकाे देशलार्इ अझैपनि खाँचाे रहेका छ। तपार्इ अगाडी अाएर देशमा रहेका बेथितिलार्इ ठिक पार्न सक्ने क्षमतावान हुनुहुन..

‘नेपालमा कम्युनिष्ट शासन होइन, पक्षपाती शासनको सुरु भयो’
‘नेपालमा कम्युनिष्ट शासन होइन, पक्षपाती शासनको सुरु भयो’

- रामचन्द्र पाैडेल जिल्ला सभापतिहरुको भेलाले अन्यौलता र निराशामा रहेका देशभरका कार्यकर्ताहरुलाई एकहदसम्म आश्वस्त पार्ने काम गरेको छ । सभापतिहरुले आफ्ना कुराहरु निर्धक्क राख..