राजपाको संयोजक फेरिँदै, अबकाे संयोजक महेन्द्रराय यादव

  |   प्रकाशित :

काठमाडौं । दुई दुई महिनामा चक्रीय प्रणालीका आधारमा अध्यक्षमण्डलको संयोजक फेर्ने प्रावधान अनुसार राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका संयोजक पुनः फेरिने भएको छ । त्यसका आधारमा अब महेन्द्रराय यादव संयोजक हुने भएका छन् । 

२०७४ वैशाखमा राजपा नेपाल गठन हुँदा महन्थ ठाकुरलाई अध्यक्षमण्डलको संयोजक बनाइएको थियो । तर महाधिवेशनसम्म संयोजक नफेर्ने भन्दै आपसी सहमतिका आधारमा ठाकुरलाई नै संयोजकमा नियमित गरेको थियो तर मङ्सिर ४ गते अध्यक्षमण्डलको बैठक बसेर ठाकुरलाई सो पदबाट हटाएर राजेन्द्र महतोलाई बनाएको थियो । 

ठाकुरलाई हटाएर राजेन्द्र महतो संयोजक बनेपछि पार्टीमा विवाद उत्पन्न भएको थियो । ठाकुर पक्षले विधानविपरीत हटाएको भनी दाबी गर्दै आएको थियो । यता, ठाकुर संयोजक रहेको अवस्थामा पार्टीमा जथाभावी गरेको कारण हटाएको दाबी महतो पक्षले गरेको छ । 

दुई(दुई महिनामा अध्यक्षमण्डलको संयोजक फेर्ने पार्टी विधानमा रहेको प्रावधानलाई लागू गर्ने भनेर नै महतो पछि महेन्द्र राय यादव संयोजक बन्न लागेका हुन् । 

शुक्रबार अध्यक्षमण्डलको बैठक बसेर महेन्द्रराय यादवलाई संयोजक सुम्पिने बताइएको छ । महेन्द्रराय यादव हाल उपचारका लागि दिल्ली गएका छन् । उनी उपचार गरेर फर्केपछि भोलि बैठक बस्ने पार्टीका एकजना महासचिवले जानकारी गराए ।

यसैगरी, राजपा नेपालले लक्ष्मण थारुको मुद्दालाई पनि उठाउने भएको छ । विजयकुमार गच्छदार अध्यक्ष रहेको लोकतान्त्रिक फोरमका नेता रहेका थारु कैलाली टीकापुर घटनाको आरोपमा उनी जेलमा छन् । 

उनको पार्टी काँग्रेससँग एकीकरण गरिसकेको छ । एकीकरण गरे पनि उनको रिहाइका लागि कुनै पनि गतिविधि गरेको छैन । उनी जेलमा हुँदा नै राजपा निकट भएका छन् । 

त्यसरी राजपा निकट भएपछि सो पार्टीका नेता महन्थ ठाकुर उनलाई भेट्नका लागि जेलसम्म पुगेका थिए । अहिले रेशम चौधरीको जस्तै लक्ष्मण थारुको मुद्दालाई पनि जोडदार रूपमा उठाउने निर्णय भोलि बस्ने अध्यक्षमण्डलको बैठकबाट गर्न लागिएको बताइएको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech