पत्नीलाई उपचार गराउन प्रचण्ड आज अमेरिका जाँदै

  |   प्रकाशित :

काठमाडाैं । रोगले थलिएकी भनिएकी पत्नी सीता दाहालको उपचार गर्न भन्दै प्रचण्ड आज अमेरिका जान लागेका छन् । 

प्रचण्डको सचिवालयका अनुसार  साँझ ५ बजे पत्नी सीता, छोरी गंगा र ज्वाइँ जीवन आचार्यसहित प्रचण्ड अमेरिकातर्फ उड्न लागेका हुन् । 

सीता पार्किन्सन रोगले पीडित भएको र यसअघि पनि सोही रोगको उपचार गर्न भन्दै प्रचण्ड थाइल्याण्ड र भारत धाउने गरेका थिए । छोरा प्रकाश दाहालको निधनपछि सीता दाहालको स्वास्थ्य झनै बिग्रिएको बताइन्छ । 

२०५२ सालदेखि चलेको जनयुद्धका क्रममा घाइते कैयन जनसेना र कार्यकर्ताहरू अहिले पनि उपचार गर्न नसकेर ज्यानमा गोलीको छर्रा बोकी बाँचिरहेका छन् । सेना समायोजनका क्रममा प्रचण्डकै निर्देशनमा क्यान्टोनमेन्टमा रहेका जनसेनाको चेक खोसेर जबर्जस्ती घर पठाइएको थियो ।

केहीअघि नै अमेरिका जान लागेपनि भेनेजुयला प्रकरणमा फसेपछि प्रचण्ड नेपालमै अड्किएका थिए । तर अमेरिकी राजदुतले प्रचण्डको समस्या बुझेपछि भेटेरै अमेरिका जान सहजीकरण गरिदिएकी हुन् । 

प्रचण्ड हाल सत्ताधारी (ने.क.पा.) का अध्यक्ष हुन् । देशमा आमूल परिवर्तन ल्याउने भन्दै उनकै नेतृत्वमा सञ्चालित गृहयुद्धमा १७ हजार नेपालीले ज्यान गुमाएका थिए । 

 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech