काठमाडौं । विद्यालय पुनःसञ्चालनमा ल्याउने भएको छ ।
कोभिड–१९ का कारण बन्द रहेका विद्यालय पुनःसञ्चालनमा ल्याउन शिक्षा मन्त्रालयले कार्यढाँचा बनाइरहेको शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले बताएका छन् । संसदको ‘शिक्षा तथा स्वास्थ्य समिति’ बैठकमा शुक्रबार पोखरेलले मन्त्रालयले तयार पारेको कार्ययोजनाबारे जानकारी गराएका थिए ।
‘स्कुल सञ्चालनसम्बन्धी अन्तिम निर्णय मन्त्रीपरिषद्ले गर्ने हो । अहिलेसम्म त्यो निर्णय भइसकेको छैन । मन्त्रीपरिषद्ले शिक्षा मन्त्रालयलाई स्कुल पुनःसञ्चालनका लागि कार्यढाँचा बनाउन जिम्मा दिएको छ । जेठदेखि नै हामी कार्यढाँचा निर्माणमा लागेका थियौँ । त्यसका लागि शिक्षामा योगदान गर्ने सबै सरोकारवालासँग पटक–पटक छलफल गरिसकेका छौँ । अन्तरमन्त्रालय छलफल पनि भइरहेको छ । शैक्षिकसत्र बिग्रन नपाओस् भन्नेमा हाम्रो ध्यान गएको छ ।’ उनले भनेका छन् ।