काठमाडौं। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बढ्दो विवादका बीच अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल निकट विद्यार्थीहरु एकजुट भएर एक्सनमा उत्रिएका छन्।
शुक्रबार आज प्रचण्ड र नेपाल पक्षीय विद्यार्थीले काठमाडौंको थापाथली क्याम्पसमा युवा–विद्यार्थी भेलाको आयोजना गरेका हुन् ।
अनेरास्ववियु नेता दीपक बुढाथोकीका अनुसार भेलालाई स्थायी कमिटी सदस्य तथा वागमती प्रदेश कमिटी इन्चार्ज अष्टलक्ष्मी शाक्य, स्थायी कमिटी सदस्य पम्फा भुसाल र पार्टी केन्द्रीय सदस्य हरि पराजुलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। पार्टीमा के भइरहेको छ भनेर कार्यकर्तालाई सुसूचित गर्न भेलाको आयोजना गरिएको नेता बुढाथोकीले बताए।
उनका अनुसार कार्यक्रममा अनेरास्ववियू, युवा सङ्घका वर्तमान र निवर्तमान नेताहरूको सहभागिता रहनेछ। विद्यार्थी नेताहरुका अनुसार पार्टीभित्र ओलीको दादागिरी घमण्ड, युवाहरु परिचालन गरेर आफ्नै नेताको खेदो खन्ने प्रवृत्तिको कडा प्रतिवाद गर्ने रणनीति बन्नेछ।
ओली नसच्चिए पार्टीबाट हटाउन आन्दोलन गर्ने अवस्थाबारे पनि छलफल हुने बताइएको छ।