काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्धको खोप केही हप्तापछि नै उपलब्ध हुने बताएका छन् ।
विपक्षी दलसँग नयाँ दिल्लीमा शुक्रबार भएको भर्चुअल बैठकमा प्रधानमन्त्री मोदीले कोरोना भाइरसविरुद्धको खोप केही हप्तापछि नै उपलब्ध हुने बताएका हुन् । बैठकमा विपक्षी दल भारतीय काँग्रेसका नेता राहुल गान्धीले भारतीय नागरिकले कहिलेदेखि कोभिडको खोप पाउँछन् भनेर प्रश्न गरेपछि प्रधानमन्त्री मोदीले केही हप्ता पछि नै खोप आउने बताएका हुन् ।
मोदीले भारतीय वैज्ञानिकको भनाई उद्धृत गर्दै आगामी केही हप्तामा नै भारतमा कोभिडका विरुद्धको खोप आउने बताए । प्रधानमन्त्री मोदीले खोपका लागि भारतीय वैज्ञानिकले निकै मेहनत गरेको पनि सो अवसरमा विपक्षी नेताहरुलाई जानकारी गराए ।
अबका केही हप्तामा भारतमा पनि कोरोना भाइरस विरुद्धको खोप दिन सकिनेगरी तयारी गरिएको बताउँदै भारतीय वैज्ञानिकहरुले सबैभन्दा पहिला यो खोप कसलाई दिने भनेर सरकारले गृहकार्य गरेको पनि प्रधानमन्त्री मोदीले बताए । एएनआई