काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेपछि उत्तरी छिमेकी चीनबाट उत्तस्तरीय प्रतिनिधिमण्डल नेपालको राजनीतिक अवस्था बुझ्न नेपाल आयो ।
नेकपा विभाजनको अवस्थामा पुगेका बेला काठमाडौं आएर चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग उपप्रमुखको टोलीले राष्ट्रपति, प्रधानमन्त्री, सबै नेताका शीर्ष नेतालाई भेट्यो ।
नेकपाको असन्तुष्ट समूहका शीर्ष नेतालाई एक्ला एक्लै भेट्यो । फर्किने बेला टोलीले नेकपाका उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य रामबहादुर थापा बादललाई भेट्यो । चिनियाँ टोलीले भेट्ने बेलासम्म वामदेव र बादल कुनै समूहमा संलग्न भइसकेका थिएनन् ।
चिनियाँ टोलीसँगको भेटपछि बादल ओली समूहमा लागे भने वामदेव अझै पनि तटस्थ नै छन् । उनले जनताको बहुदलीय जनवाद सिद्धान्तलाई अगाडि बढाउन अभियान लिएर कार्यकर्तामाझ जाने भनेका छन् । यो भनेको वामदेव पनि अन्तत: ओलीतिरै संकेतका रुपमा लिइएको छ ।
के भन्यो चिनियाँ टोलीले
वामदेव र बादलसँगको भेटमा चिनियाँ टोलीले ओली समूहमै लाग्न प्रेरित गरेको खुलेको छ । ओलीको सेकेण्ड म्यान भएर बस्न र भोलि ओली हटेपछि वा केही भइहाले फेरि एकताको उद्देश्यसहित चिनियाँ टोलीले दुबै नेतालाई संस्थापन अर्थात ओली समूहमै लाग्न प्रेरित गरेको स्रोतले बतायो ।
अर्कोतिर चिनियाँ टोलीले ओलीको सामिप्यमा सेकेण्ड म्यान भएर उनका गतिविधि निगरानी गर्न पनि बादल र वामदेवलाई चुनेको बताइएको छ ।
चिनियाँ टोलीले ओली गुटमा लाग्दा हुने फाइदाहरु देखाएपछि प्रचण्डलाई छाडेर बादल तत्कालै समावेश भइसकेका छन् । वामदेव पनि प्रक्रियामा छन् ।
यसले तत्काललाई भए पनि ओलीलाई राहत भएको छ । समूहहरुमा सन्तुलन देखिएको छ ।