काठमाडौं । भारतीय टेलिभिजन च्यानल जी न्यूजका सम्पादक सुधीर चौधरीले नेपालको सर्वोच्च शिखर सगरमाथाबारे प्रशारण गरेको रिपोर्टले हंगामा मच्चिएको छ । चौधरीका साथै उनलाई अन्तर्वार्ता दिएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीमाथि खनिने जमात ठूलो छ । राष्ट्रवादी छवि बनाएका प्रधानमन्त्री ओलीलाई जसरी पनि एक्ल्याउने र सत्ताबाट पछार्ने रणनीति बोकेका नेकपाकै दाहाल-नेपाल समूहले भारतीय अर्कै सन्दर्भमा भनेको कुरालाई प्रधानमन्त्रीसँग जोडेर खोइरो खनिरहेका छन् ।
जी न्युजको रिपोर्ट हेर्ने हो भने सुधीरले सगरमाथा होइन अंग्रेजी नाम माउन्ट एभरेष्ट फेरौ भनेका हुन् । यसका लागि भारतले दावी गर्नुपर्ने उनको आशय थियो। उनले सगरमाथामाथि दावी गर्ने भनेका होइनन् । सगरमाथाको अंग्रेजी नाममा भारतले दावी गरेर फेर्न लाउनुपर्ने बताएका हुन् । एक भारतीयको हिसाबले उनको दावी उनको ठाउँमा ठिक होला । तर उनले हल्ला गरे भन्दैमा हामी रोइलो गर्नु जरुरी छैन । अझ प्रधानमन्त्रीमाथि राजनीतिक प्रतिशोध साधेर प्रहार गर्नु ठिक छैन ।
सुधीर चौधरी न त भारत सरकार हो न त कुनै निकाय । उनी त एक निजी सञ्चारमाध्यमका कारिन्दा मात्रै हुन् । होला उनको भारतीय सत्तासँग निकट सम्बन्ध होला । तर उनले भनेको आशय बुझ्दै नबुझी भारत सरकारले आधिकारिक रुपमै दावी गरे जसरी प्रचार प्रसार गरिनु आपत्तिजनक छ ।
भारतका सम्बन्धमा प्रधानमन्त्रीको स्ट्यान्ड के हो उनले उक्त टिभीलाई अन्तर्वार्ताबाटै स्पष्ट पारिसकेका छन् । जसको दिग्गज व्यक्तिबाटै प्रशंसा भइरहेको छ । राजा महेन्द्रपछि भारतसँग सिधा सिधा बोल्ने प्रधानमन्त्रीको जाबो एउटा निजी सञ्चारमाध्यमको पत्रकारले रिपोर्ट बजाउँदैमा हुर्मत लिनु प्रतिशोधको पराकाष्ठा हो ।
यसबारे नेपाल फाउण्डेशनका अध्यक्ष विकास ठाकुर भन्छन्,
सुधीर चौधरी भारत होइन, भारत सरकार होइन् । भारत सरकारका प्रवक्ता वा सत्तारूढ भारतीय जनता पार्टीका नेता होइनन् । उनी एक टेलिभिजनको प्रधान सम्पादक हुन् । तर, आज जसरी नेपालका सञ्चारमाध्यम र समाजिक सञ्जालमा चौधरीलाई स्थान दिइँदै छ, लाग्दैछ मोदीभन्दा पनि ठूलो ब्यक्ति हुन् भारतका ।
अर्कोतर्फ चौधरीले सगरमाथाको नाम परिवर्तन गर्नु पर्ने वा सागरमाथा भारतमा पर्छ भनेर भनेका छैनन् । उनले सगरमाथाको नाम समेत उच्चारण गरेका छैनन् । उनले त माउण्ट एभरेष्टको नाम परिवर्तन गर्ने कुरा गरेका छन् । जर्ज एभरेष्टको नामबाट किनरु राधाकृष्ण सिकदरको नामबाट हुनुपर्ने आफ्नो धारणा राखेका छन् ।
माउण्ट एभरेष्ट नामाकरण भारत ब्रिटिशहरुको उपनिवेश रहँदा समयमा भएकोले राधाकृष्ण सिकदरको नामबाट राखिएन् । तर अहिले समय परिवर्तन भईसकेको छ, ब्रिटिशहरुद्वारा नामाकरण गरिएको भारतका विभिन्न शहर र ठाउँको नाम परिवर्तन भइसकेको छ ।
पहिलोपटक भारतले उचाई नापेको र सोही अनुसार माउण्ट एभरेष्ट नामाकरण गरिएकोले अब त्यो परिवर्तन गरेर माउण्ट सिकदर गर्नुपर्छ भन्ने चौधरीको भनाई एक भारतीयको हिसावले सहि पनि छ ।
यो कुरालाई हामी नेपालीले वास्ता गर्नुपर्ने विषय नै थिएन् । किनभने हरेक नेपालीको मन मुटुमा बसेको नाम सगरमाथा हो । जसलाई चौधरीले उच्चारण समेत गरेनन् ।
प्रधानमन्त्रीलाई नै तल देखाउनका लागि तिललाई पहाड बनाएर अरुको कुरालाई स्थापित गर्नु भन्दा आफ्नो तर्कलाई स्थापित गर्ने काममा लाग्दा राम्रो होला ।