Logo

बिहिवार, श्रावण २६ गते २०७९

images

घरमै प्रधानमन्त्रीको प्रस्ताव आउँदा पनि किन तयार भएनन् देउवा?

घरमै प्रधानमन्त्रीको प्रस्ताव आउँदा पनि किन तयार भएनन् देउवा?

नेपाल पाना चैत्र ६ २०७७
  • 9.3K
    SHARES
  • घरमै प्रधानमन्त्रीको प्रस्ताव आउँदा पनि किन तयार भएनन् देउवा?

    काठमाडौं । नेपाली कांग्रेसले सरकारको नेतृत्व लिनका लागि राजनीतिक वातावरण नबनिसकेको प्रतिक्रिया दिएको छ । वर्तमान राजनीतिक परिस्थितिमा प्रधानमन्त्रीको पदको लालसा पनि पाल्ने र सरकारको नेतृत्वका लागि अग्रसर पनि नहुने भन्ने आरोप लागिरहेका बेला कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले अहिलेको अवस्थामा सरकारको नेतृत्व लिन अग्रसर हुने किसिमको राजनीतिक वातावरण मिलिनसकेको प्रतिक्रिया दिएका हुन् ।

    उनले सभापति देउवालाई प्रधानमन्त्री पद एकदमै चाहिएको भन्ने कुरामा सत्यता नभएको बताए । यद्यपि, परिस्थिति बनेको अवस्थामा प्रधानमन्त्रीको पदीय जिम्मेवारी लिनबाट पनि नभाग्ने मनस्थितिमा सभापति रहेको उनको तर्क थियो ।

    'वर्तमान राजनीतिक अवस्थामा सरकारको नेतृत्वका सम्बन्धमा कांग्रेस किन स्पष्ट हुन नसकेको हो?' भन्ने प्रश्नमा उनले आफैसँग भएको सांसद संख्या र अन्यदलहरु भित्र भएको अन्तर कलह र त्यसको परिणामको स्पष्ट तस्विर बाहिर आईनसकेकाले पार्टीले पनि धारणा तय नगरेको बताए । उनले सरकार गठनका लागि आवश्यक गणितको विश्लेषण पछि पार्टी निर्णयमा पुग्ने बताएका हुन् ।

    'सत्ता चलाउन नेपाली जनताले एमाले र माओवादीको गठबन्धनलाई दिएको हो । अहिले त्यो गठबन्धन पनि भत्कियो र जनताले दिएको त्यो म्यान्डेट पनि खण्डित भइसक्यो । अहिले उहाँहरुले हामीलाई नै दिएको भनेर भनिरहनुपर्ने, अडिरहनुपर्ने अवस्था विल्कुलै छैन,' प्रवक्ता शर्माले भने, 'त्यसैले नेपाली कांग्रेस पार्टीलाई पहिले प्रतिपक्षी बसेको थियो । अब सत्तामा जानै हुन्न भनेर भनिरहेको अवस्था हो भनेर हामी पनि मान्दैनौ । तर गणितीय रुपमा प्रस्तावित गरेको अवस्था नबनिकन नेपाली कांग्रेसले प्रधानमन्त्री पदका लागि दौरासुरवालमा आइरन गरिहाल्ने बेला भएको छ भन्ने हामी मान्दैनौं ।'

    उनले कांग्रेसले दबाबको आधारमा हतारमा निर्णय नगर्ने पनि स्पष्ट पारे । नेकपा एमाले, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र, जनता समाजवादी भित्र पनि अन्तरसंघर्ष चलिरहेको र उनीहरुले पनि आ-आफ्नो राजनीतिक अडान सार्वजनिक नगर्दे कांग्रेस निर्णयमा पुग्नु गलत हुने उनको टिप्पणी थियो ।

    'प्रदेश १ र वाग्मती प्रदेशमा अविश्वासको प्रस्ताव आउँदा कतिपय साथीहरुले चाँडै निर्णय गरिहालौं भन्नुभयो । निश्चिय नै अविश्वासको प्रस्तावको पक्षमा हामी मत दिन्थ्यौ होला । तर त्यसबेला हामीले निर्णय गर्ने हतारो गरेको भए ? आखिर अविश्वासको प्रस्ताव त विधिवतरुपमा गएन' उनले भने ।

    शर्माले वर्तमान राजनीतिक अवस्थाले नेपाली कांग्रेस पार्टीले सरकारको नेतृत्व खोजिरहेको भए पनि राजनीतिक गणित त्यो ढंगले विकसित नभएको बताए । राजनीतिक वृतमा चर्चा भएजस्तो वास्तवमै प्रतिगमन तिर लैजाने प्रधानमन्त्रीलाई विदाई गर्ने हो भने सबै दलहरु प्रधान एजेण्डाका साथ आउनुपर्ने उनको धारणा थियो ।

    भने, 'नेपाली कांग्रेस पार्टीको गणित संसदको अविश्वासको प्रस्ताव दर्ता गर्न पुग्ने गणित होला तर अविश्वासको प्रस्ताव पारित गर्न पुग्ने गणितको साथ अरु दलहरु त्यही रुपमा त्यही निर्णयका साथ आईहालेको अवस्था होइन । उहाँहरुले कमरेड केपी ओलीको विकल्प खोजुँ भन्ने एउटा कुरा भयो । तर विकल्प खोजुँ भनेर भन्दै गर्दा अगाडि सार्ने एजेण्डाहरु अर्को विषय भयो, त्यसकारण अन्य दलहरुले पनि के प्रष्टता राख्नुपर्ने बेला भएको छ भने हामी सांच्चै प्रतिगमनतर्फ कदम चालेको प्रधानमन्त्री जी, असंबैधानिक कदम चालेको प्रधानमन्त्री जी, सत्तामा शासन गर्नका लागि नैतिक रुपमा गम्भीर प्रश्न उठिसकेको प्रधानमन्त्री जीलाई विधाई गर्ने कुरालाई प्रधानरुपमा राख्छौ या यसपछाडिका हाम्रा एजेण्डालाई प्रधान रुपमा राख्छौ भन्ने कुरामा चाही अरु दलहरु पनि क्लियर भएर आउनुपर्ने अवस्था छ ।'

    त्यसकारण प्रधानमन्त्री पदले नेपाली कांग्रेसको पार्टीको ढोका ढकढकाएको भए पनि त्यसका लागि आवश्यक पृष्ठभूमि भने तयार नभइसकेकाले सरकार गठनको सुनिश्चितताका लागि आवश्यक गणितिय कुरा नमिलेसम्म कांग्रेसले अग्रसरता नदेखाउने उनले बताए ।

    'प्रधानमन्त्री पदले नेपाली कांग्रेस पार्टीको ढोका ढकढकाएको छ । तर त्यसका लागि चाहिने पर्याप्त गणितको लागि चाहिने पृष्ठभूमि र त्यहाँभित्रको वातावरण त्यही रुपमा विकसित नभईरहेको अवस्थामा नेपाली कांग्रेस पार्टी सत्ताको नेतृत्व त गर्ने तर नेतृत्व गर्नका लागि उपयुक्त गणितिय कुरा नपुगिसकेको अवस्थामा धेरै अग्रसरता नलिने भन्नेमा छ' उनले भने, 'यसको अर्थ हामी कुराकानी, छलफल र संवादमा कहीँ पनि छैनौ भन्ने होइन । हामी केही न केही संवादहरुमा आन्तरिक रुपमा छौं । परिपक्को वातावरण बनाएर उचित गणितिय वातावरण बनाएर त्यसपछि सार्वजनिक रुपमा आउनेछौं ।'

    चैत्र ६, २०७७ शुक्रवार ०८:३१:५४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # शेरबहादुर देउवा

  • नेपाल पाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend