काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले मुलुकको विद्यमान राजनीतिक समस्या समाधान गर्न अब कांग्रेसले सरकारको नेतृत्व गर्ने घोषणा गरेका छन् ।
गाईघाको लोकतान्त्रिक चौकमा आज आयोजित नेपाल राष्ट्रिय मगर सङ्घ प्रदेश नं १ को भेलामा उनले भने, “ नेकपा एमाले र माओवादी केन्द्र फुटेर झगडामा लागेपछि अहिले देशमा राजनीतिक सङ्कटसँगै सरकार पनि सङ्कटमा परेको छ ।”
महामन्त्री कोइरालाले अहिले देशको तत्कालीन अवस्थाको राजनीतिक समस्या समाधान गर्न र देशलाई सङ्कटबाट बचाउनका लागि आवश्यक परे नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्न तयार रहेको उल्लेख गर्दै कांग्रेसले मात्र देशलाई सही निकास दिन सक्ने दाबी गरे ।
“पाँच वर्षका लागि कम्युनिष्टलाई जनताले मतदान गरेर बहुमत दिई सत्तामा पु¥याएका कारण कांग्रेसले प्रतिपक्षको मात्र धर्म निर्वाह गर्दै आएको छ तर अहिले देशको अवस्था झनै जटिल बन्दै गएकाले कांग्रेस सरकारको नेतृत्व लिन तयार रहेको छ”, उनले भने ।
महामन्त्री कोइरालाले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा अबको सरकार बन्न सक्ने र देशलाई निकाश दिएर आवश्यक परे ताजा जनादेशमा गई राजनीतिक निकास दिने बताए । मुलुकको प्रजातान्त्रिक आन्दोलनमा मगर जातिको ठूलो योगदान रहेको भन्दै उनले पछाडि परेका मगर जातिको उत्थानका लागि उनीहरुलाई राज्यको मूल प्रवाहमा ल्याउनुपर्नेमा जोड दिए।
नेकपा एमाले यतिबेला आफै आन्तरिक किचलोमा रहेका बेला नेपाली कांग्रेसको सक्रियताले बालुवाटारमा खैलाबैला हुनसक्ने संकेत देखिएको छ ।