Logo

बिहिवार, बैशाख ३० गते २०७८

ति दलित अम्बेडकर, यी ब्राह्मण बाबुराम : अम्बेडकरको संविधानले आधुनिक भारत जन्मायो, बाबुरामको संविधानले बिद्रोह जन्मायो

ति दलित अम्बेडकर, यी ब्राह्मण बाबुराम : अम्बेडकरको संविधानले आधुनिक भारत जन्मायो, बाबुरामको संविधानले बिद्रोह जन्मायो

Bikash Kumar Thakur बैशाख ३ २०७८
  • 4.6K
    SHARES
  • ति दलित अम्बेडकर, यी ब्राह्मण बाबुराम : अम्बेडकरको संविधानले आधुनिक भारत जन्मायो, बाबुरामको संविधानले बिद्रोह जन्मायो

    भारतको संविधानका पिता डा. बाबा साहेब भीमराव अम्बेडकरको जन्मजयन्ती सोमबार काठमाडौंमा बनाइयो । आजको वैश्विक परिवेशमा अम्बेडकरको सान्दर्भिकता झनै बढेको छ । आधुनिक भारतको निर्माणमा अम्बेडकरको भूमिका तथा समाजका सीमान्तकृत वर्गको सामाजिक उत्थानमा योगदानका लागि अम्बेडकर चिनिन्छन् । दलित परिवारमा जन्मिएर, हुर्किएर पनि उनले १३० करोड जनसंख्या भएको भारतको निर्माणमा र भारतको राजनीतिक तथा सामाजिक—आर्थिक रुपान्तरणमा महत्वपूर्ण भूमिका खेलेको भारतको संविधान बनाउन विशेष भूमिका खेले । अम्बेडकरले आफ्नो सम्पूर्ण जीवन समग्र भारतको कल्याणमा उत्सर्ग गरे । खासगरी ८० प्रतिशत दलितको सामाजिक र आर्थिक उन्नति, मुक्ति दिलाउन अम्बेडकरको जीवनको संकल्प थियो ।

    अम्बेडकरको विशेषज्ञ ज्ञानले भारतको सर्वमान्य संविधान बन्यो । आधुनिक भारत बन्यो । संविधानसभा प्रारुपण समितिका अध्यक्षका रुपमा डा अम्बेडकरले बनाएको ३१५ अनुच्छेदको संविधान २६ नोभेम्बर १९४९ मा पारित भयो ।  उनको जस्तो विशेषज्ञ व्यक्ति भारतमा अरु कोही थिएनन् समावेशी संविधान निर्माणका लागि । त्यसैले त १९९० मा मरणोपरान्त भारतको सर्वोच्च नागरिक सम्मान भारत रत्नबाट अम्बेडकर सम्मानित भए । अम्बेडकरको लक्ष्य सामाजिक असमानता अन्त्य गरेर दलितहरुको मानवाधिकारको प्रत्याभूत गर्नु थियो । जसलाई उनले बनाएको संविधानले कार्यान्वयनमा ल्यायो । समग्रमा उनको नेतृत्वमा बनेको संविधान शक्तिशाली, समावेशी, सामाजिक न्याय सिद्धान्त भएको प्रजातान्त्रिक आधुनिक भारत निर्माणको कोशेढुंगा सावित भयो ।

    bikash g.jpg

    त्यसैगरी नेपालमा पनि लामो समय लाएर २०७२ सालमा संविधान बन्यो । २०६३ सालपछि संविधानसभा निर्वाचन भई बनेको संविधानसभाबाट संविधान बनाउन माओवादी असफल रह्यो । सर्वहारा, समावेशी, सामाजिक न्यायको सिद्धान्त बोकेको, उत्पीडनको पक्षमा बोल्ने माओवादीकै कारण पहिलो संविधानसभा असफल भयो । त्यतिबेला प्रधानमन्त्री बाबुराम भट्टराई थिए । उनले संविधान नै नबनाई पहिलो संविधानसभा भंग गरिदिए । दोस्रो संविधानसभा चुनाव भयो । संविधानसभा बन्यो । त्यसमा संवैधानिक राजनीतिक संवाद सहमति समितिको सभापति थिए बाबुराम भट्टराई ।

    उनको जिम्मेवारी थियो प्रमुख दलबीच सहमति कायम गरी पार्टीभन्दा माथि उठेर जनताले अपेक्षा गरेको संविधान जारी गर्न भूमिका खेल्ने । तर त्यसो भएन । माओवादीले १० वर्षे जनयुद्धका क्रममा मधेसलाई विशेष अधिकार दिनुपर्ने अवधारणा अघि सारेको थियो । हरेक नेताका भाषणमा मधेसलाई हेर्ने भनिएको थियो । मधेसका उत्पीडन, दलित, गरिब जनताका पक्षमा जनयुद्धमा जसरी माओवादीले आवाज उठायो, जब त्यसलाई संविधानमा समेट्ने भूमिकामा पुग्यो तब वेवास्ता गर्योन । त्यहाँ ब्राह्मणवादी सोच हाबी भयो । विपन्न समुदायले अधिकार पाएनन् । यसमा प्रमुख भूमिका थियो बाबुराम भट्टराईको । बाबुरामलाई समावेशी संविधान बनाएर, सबै जनतालाई अधिकार दिएर आधुनिक नेपालको खाका कोर्ने अवसर थियो, जसरी भारतमा अम्बेडकरले गरे ।

    bikash g.jpg

    तर बाबुराम आफ्नो जात, पार्टीभन्दा माथि उठ्न सकेनन् । दलहरुबिच सहमति कायम गराउन सकेनन् । मधेसको सिंगो पंक्तिलाई बाहिर राखेर संविधान जारी गराउन तयार भए ।
     फलस्वरुप असोज ३ २०७२ मा निर्माण भएको संविधानको पक्षमा पहाडमा दिपावली भयो भने तराईमा बल्याक आउट भयो । मधेसी जनताले विरोध जनाए । हजारौं मधेसी जनता आन्दोलनका क्रममा मारिए । घाइते भए । अंगभंग भए । उनीहरुको बलिदानको पनि कदर संविधानमा भएन । विश्वकै उत्कृष्ट संविधान भनिए पनि एउटा पुरै समुदायलाई उपेक्षित गरिएको संविधान बनाएर बाबुराम पतन भए । यद्यपि अहिले पनि उनी त्यहीँ एजेण्डा बोकेमा पार्टीमा लागेर राजनीति गरिरहेका छन् । बाबुराममा विद्धता भए पनि उनले क्षमता प्रदर्शन गर्न सकेनन् । जसका कारण आधुनिक नेपाल होइन अध्यारो सुरुङमा देश पछाडि धकेलियो । जनयुद्धबाट थलथिलो भएको देशमा विद्रोहको विगुल फुक्यो । अहिले पनि मधेस शान्तिपूर्ण विद्रोहमै छ । यसको नेतृत्व मधेसकेन्द्रीत दलहरुले गरिरहेका छन् । संविधान संशोधनको माग उठाइरहेका छन् । यदि बाबुरामले त्यहीँ बेला सहमति जुटाएर संविधान बनाएको भए न विद्रोह हुन्थ्यो न संशोधनको माग नै । यस हिसाबले बाबुरामको नेतृत्वले समस्या समाधान भन्दा पनि बल्झाउने काम गरेको देखिन्छ । आजको युगमा अम्बेडकर सम्झिँदै गर्दा बाबुरामको पनि नेपालको संविधान निर्माणको हकमा नकारात्मक चित्रण सबैको मानसपटलमा आउँछ । किनभने उनको नेतृत्वले समावेशी संविधान दिन सकेन । सामाजिक न्याय गर्न सकेन । जुन भारतमा अम्बेडकरले उहिल्यै सम्भव तुल्याएका थिए ।
     
    अन्तिममा तुलना गर्दा अम्बेडरको संविधानले भारतमा सामाजिक न्याय ल्यायो । बाबुरामको संविधानले दलित, जनजाति, थारु, मधेसीमाथि अत्याचार गर्यो् । यहाँनेर बाबुरामजस्ता ब्राह्मण समुदायको लिडरले अम्बेडकर जस्ता दलित नेतृत्वबाट सिक्न जरुरी छ ।

    बैशाख ३, २०७८ शुक्रवार १०:४४:२७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बाबुराम भट्टराई

  • Bikash Kumar Thakur

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana