धनगढी । सुदूरपश्चिम प्रदेशमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि ठूलो घात भएको छ ।
ओलीमाथि आफ्नैले पदलोलुपतामा घात गरेका हुन् । खासगरी भीम रावलको लहलहैमा लागेर आफ्नै समूहका सांसदले घात गरेपछि सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत पाएका छन् ।
मुख्यमन्त्रीको पक्षमा ३० जनाले मतदान गरे भने उनको विपक्षमा ९ मतमात्र परेकव थियो । १२ जना प्रदेश सांसद तटस्थ बसे । प्रतिपक्षी कांग्रेसले मुख्यमन्त्री भट्टलाई साथ दियो । अध्यक्ष ओली पक्षीय ७ सांसदले फ्लोर क्रस गरे । यो नै सबैभन्दा ठूलो घात थियो ।
ओली समूहमा रहेका पठान सिंह बोहरा, लीलाधर भट्ट, गेल्बु सिङ बोहरा, रतन थापा, माया तामा बोहरा, नेपालु चौधरी, बलदेव रेग्मीले फ्लोर क्रस गरेका हुन् । अहिले प्रदेशसभामा सबैभन्दा ठूलो दल एमालेका सभामुख बाहेक २४, माओवादीका १३, कांग्रेसका १२ र जनता समाजवादी पार्टी नेपालका दुई जना छन् ।
अध्यक्ष ओली समूहले सुदूरपश्चिममा माधव नेपाल पक्षका १५ जनालाई कारवाही गरेको थियो भने विपक्षमा मतदान गर्न ह्विप जारी गरेको थियो ।
एमालेका प्रदेश अध्यक्ष कर्ण थापा र सचिव राजेन्द्र रावलले संसदीय दलका नेता प्रकाशबहादुर शाह र प्रमुख सचेतक दुर्गा विकलाई विपक्षमा मतदान गर्नका लागि ह्विप जारी गर्न निर्देशनसहित पत्र पठाएका थिए । माधव नेपाल पक्षका सांसदहरुको बैठकले एमाले केन्द्रको ह्विप उल्लंघन गर्ने निर्णय गरेको थियो ।
आफ्नै समूहका र माधव नेपाल समूहकाले मिलेर अल्पमतमा रहेका भट्टलाई विश्वासको मत दिएपछि प्रधानमन्त्री ओली जवाफ दिने तयारीमा जुटेका छन् ।
ओलीले सबैलाई कारवाही गर्ने रणनीति लिएका छन् । पार्टी अनुशासनमा नरहने सबैलाई पदमुक्त गर्ने पार्टीको तयारी छ ।