काठमाडौं । विभिन्न मुलुकका राजदूतहरुले कोभिड–१९ का कारण थलिएको नेपालको पर्यटनलाई उकास्न नयाँ रणनीतिक ‘प्रडक्ट’ र कार्यनीति आवश्यक रहेको सुझाउनुभएको छ ।
नेपाल पर्यटन बोर्डले नेपालको पर्यटन प्रवद्र्धनका विषयमा आज आयोजना गरेको भर्चुअल कार्यक्रममा उहाँहरुले कोभिडको कारण थलिएको पर्यटनलाई चलायमान बनाउन नयाँ कार्यक्रम ल्याउन सुझाएको बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीले जानकारी दिनुभयो ।
राजदूतहरूले कोभिडको समयमा सबैतिर समस्या भए पनि त्यसपछिका लागि अहिलेदेखि नै तयारी आवश्यक रहेको बताउनुभएको थियो । खोपको विकास र विस्तारसँगै अन्तर्राष्ट्रिय पर्यटन चलायमान भएको भन्दै उहाँहरुले नेपालको लागि छिमेकी देशहरु नै ठूलो स्रोत बजार भएकाले त्यसतर्फ ध्यान दिई प्रवद्र्धनात्मक कार्य गर्न बोर्डलाई सुझाव दिनुभएको छ । यस्तै राजदूतहरूले नेपालको हवाई भाडा अति महँगो भएकाले पर्यटक आगमनमा समस्या पर्ने गरेकाले त्यसलाई समायोजन गर्न आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशिधर मिश्रले नेपालका लागि बङ्गलादेश ठूलो बजार रहे पनि सोहीअनुरूप काम हुन नसकेको धारणा राख्नुभयो । बङ्गलादेशमा करिब डेढ करोड हिन्दू र ८० लाख बुद्धिष्ट जनसङ्ख्या भएकाले केही प्रवद्र्धनात्मक काम तथा कनेक्टिभिटीमा जोड दिन सके बङ्गलादेशबाट ठूलो सङ्ख्यामा पर्यटक नेपाल लैजान सकिने बताउनुभयो ।
यस्तै पाकिस्तानका लागि नेपाली राजदूत तपस अधिकारी सीमा पर्यटनलाई जोड दिन आवश्यक रहको धारणा राख्नुभयो । उहाँले अङ्ग्रेजी अन्तर्राष्ट्रिय भाषा भए पनि विश्वमा अङ्ग्रेजी नबुझ्नेको सङ्ख्या ठूलो रहेकाले स्थानीय भाषामा प्रवद्र्धनका सामग्री तयार पार्न बोर्डलाई सुझाव दिनुभयो ।