Logo

बिहिवार, श्रावण २१ गते २०७८

पत्रकार महासंघमा आचार्य दाजुभाइको 'दादागिरी' ले तनावमा प्रेस युनियन, महासंघको टेबुल कुर्सी पनि गायब !

पत्रकार महासंघमा आचार्य दाजुभाइको 'दादागिरी' ले तनावमा प्रेस युनियन, महासंघको टेबुल कुर्सी पनि गायब !

नेपालपाना श्रावण ७ २०७८
  • 4.0K
    SHARES
  • पत्रकार महासंघमा आचार्य दाजुभाइको 'दादागिरी' ले तनावमा प्रेस युनियन, महासंघको टेबुल कुर्सी पनि गायब !

    काठमाडौं। नेपाल पत्रकार महासंघ अहिले पनि निर्वतमान अध्यक्ष गोविन्द आचार्यको निर्देशनमा चल्न थालेको छ । यो कुरा बाहिरिएसँगै अहिले नेपाल प्रेस युनियनभित्र ब्यापक विरोध सुरु भएको छ ।

    युनियनतर्फबाट निर्वाचित अध्यक्ष विपुल पोखरेल धेरै जसो काठमाडौंमा नबस्ने र भएका बेला पनि आचार्यसँगै रहेर काम गरेको पाएपछि युनियन आवद्ध पत्रकारहरु रुष्ट भएका हुन् ।

    सरकारले कोरोनाविरुद्ध पत्रकारका लागि उपलब्ध गराउने भनेको खोप माओवादीका ७ सयभन्दा बढी कार्यकर्तालाई पत्रकार महासंघका तर्फबाट सिफारिस गरेको पाइएपछि पत्रकारहरुले प्रश्न उठाउन थालेका हुन् ।

    ललितपुर र अन्य खोप केन्द्रबाट माओवादी कार्यकर्तालाई समेत खोपका लागि महासंघका महासचिव रोशन पुरीले चिठी लेखेरै सिफारिस गरेको पाइएको छ।

    यो विषय छानवीन हुनुपर्ने र गैरपत्रकारलाई पत्रकारको कोटा उपलब्ध गराएकाले छिट्टै बैठक राख्न अध्यक्ष विपुलसामू अन्य पदाधिकारीले माग समेत राखेका थिए । तर, विपुल भने स्पष्ट जवाफ नै नदिई बुधबार अमेरिका उडिसकेका छन् ।

    त्यतिमात्र होइन, महासंघका पदाधिकारीका लागि बनाइएका कक्ष, टेबल, कुर्सी समेतमा माओवादीकै नेता कार्यकर्ताले एकलौटी जस्तै गरेको आरोप छ ।

    महासंघको कार्यालयमा ६ जना सचिवहरुलाई बस्ने टेबुल, कुर्सी नै छैनन्। तर, माओवादीबाट निर्वाचित लेखासमिति संयोजक लेखनाथ न्यौपानेलाई भने महंगा सोफा, कुर्सी, टेबुलसहित बेग्लै रुमको व्यवस्था गरिएको छ ।

    निर्वतमान अध्यक्ष गोविन्द आचार्य र महासचिव पूरीले यति धेरै दुरुपयोग गर्दा पनि अध्यक्ष पोखरेल, बरिष्ठ उपाध्यक्ष रमेश विष्ट, उपाध्यक्ष बाला अधिकारीले वेवास्ता गरेको भन्दै सचिवहरु पवन आचार्य र नारायणसुन्दर किलम्बुलगायतले गम्भीर आपत्ति जनाएका छन् ।

    यस्तो अवस्थामा युनियनमा आवद्ध पदाधिकारी र अन्य सदस्यहरुले आफु निकट पदाधिकारीलाई  के महासंघ पुरै माओवादीको पोल्टामा गइसकेको हो ? भन्दै घेरा नै हालेका छन्।

    आफ्नो अध्यक्षको कार्यकाल सकिदा पनि महासंघमा गोविन्द आचार्यले देखाएको अतिरिक्त रुचीलाई माओवादीको चालबाजी र युनियनको कमजोरीका रुपमा लिइएको छ ।

    आफू अध्यक्ष हुँदा आचार्यले महासंघलाई भन्दा पदेन सदस्य रहेको प्रेस काउन्सिलमा बढी रुची देखाएका थिए । ३ वर्षको कार्यकालमा उनले काउन्सिलबाट झण्डै १० लाख रुपैया बराबरको काम गरेको महासंघका उतिबेलाका पदाधिकारीले बताए । अहिले पनि उनले विपुललाई काउन्सिल भित्र घुस्याई भत्ता बुझ्न लगाउने काम सुरु गरिसकेका छन् । 

    त्यतिमात्र होइन, गोविन्द आचार्यले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सञ्चार क्षेत्रलाई आफ्नो हालीमूहाली बनाउनका लागि उनले डा. सुरेश आचार्यको सहारा लिएका छन् ।

    उनीसहितका केही सिनियर पत्रकार देउवा वरिपरि घुमेपछि अन्य पत्रकारहरु चकित परेको सूचना प्रधानमन्त्रीकै सचिवालयमै पुगेको छ । 

    सरकारमा माओवादी, एमालेको माधव नेपाल समूहसहित सामेल भएपनि सञ्चार क्षेत्रमा भने माओवादीले आफ्नो प्रभाव जमाउने र काँग्रेसलाई थांग्नामा सुताउने रणनीति लिएको छ ।

    प्रचण्ड निकट रहेका डा.सुरेश आचार्य र गोविन्द आचार्यको सक्रियतालाई युनियन र महासंघमा आवद्ध पत्रकारहरुले बडो संसयका रुपमा हेरेका छन् ।

    वर्तमान सरकारको कांग्रेस पक्ष सञ्चार क्षेत्रमा रहेका भइरहेका नियुक्तिलाई कायमै राख्ने, चलाएर अदालतमा विवाद नपुर्याउने पक्षमा उभिएको छ ।

    तर, माओवादी पक्ष भने सबै नियुक्तिलाई खारेज गरेर आफ्ना अनुकुलका कार्यकर्ता ल्याउन दवाव दिइरहेको छ ।

    यो समुहले गोरखापत्र, नेपाल टेलिभिजन, रासस मात्र होइन, प्रेस काउन्सिल जस्तो स्वायत्त निकायमा समेत हस्तक्षेप गर्नका लागि प्रधानमन्त्री देउवालाई उक्साइरहेको छ ।

    देउवाले भने अहिले विवादमा आउने काम नगरौं भन्दै सुरेश आचार्य र गोविन्द आचार्यसहितलाई जवाफ फर्काएको स्रोतकाे दाबी छ ।

    श्रावण ७, २०७८ बिहिवार २०:५०:३१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # पत्रकार
  • # प्रेस काउन्सिल

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana