Logo

सोमवार, आश्विन ४ गते २०७८

सत्ता लोभले फेरि फुट्ने भयो माओवादी, प्रचण्डलाई चुनौती दिने यी हुन् हिम्मतवाला ?

सत्ता लोभले फेरि फुट्ने भयो माओवादी, प्रचण्डलाई चुनौती दिने यी हुन् हिम्मतवाला ?

नेपालपाना श्रावण २१ २०७८
  • 90.1K
    SHARES
  • सत्ता लोभले फेरि फुट्ने भयो माओवादी, प्रचण्डलाई चुनौती दिने यी हुन् हिम्मतवाला ?

    काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रमा अन्तरसंघर्ष बढेको छ । पटक पटक फुटबाट कमजोर बनेको माओवादी सत्ता लिप्साका कारण फुटको संघारमा पुगेको हो ।

    रामबहादुर थापा बादलदेखि लेखराज, मोहन वैद्य हुँदै विप्लवसम्म टुक्रा टुक्रा भएका बेला माओवादीले फुटको अर्को चोट खाने खतरा बढेको छ । कारण हो सत्ता । अहिले माओवादी अध्यक्ष प्रचण्डकै अगुवाईमा कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेको छ ।

    उक्त सरकारमा माओवादी सहभागी छ । ७ मन्त्रालय पाउनेमा २ मन्त्री भइसकेका छन् । अब ५ मन्त्रालय टुंग्याउनुपर्ने छ । तर प्रचण्डलाई यति सकस परेको छ कि उनले केही दिनअघि पार्टीका ४९ अर्थात सबै सांसद नै मन्त्री बन्न खोजेको भन्दै आफू तनावमा रहेको बताएका थिए ।

    प्रचण्डले भनेजस्तै उनी अहिले साँच्चिकै तनावमा रहेको माओवादी नेताहरु बताउँछन् । खासगरी मन्त्री छान्न प्रचण्डलाई महाभारत बनेको छ । एकातिर पार्टी फुट्ने खतरा र अर्कोतिर अमुक व्यक्तिलाई मन्त्री नबनाउन कार्यकर्ता पंक्तिको मागले प्रचण्ड चेपुवामा परेका हुन् ।

    माओवादीबाट सरकारमा नेतृत्व कसले गर्ने भन्ने अन्योल छ । हाल माओवादीबाट जनार्दन शर्माले अर्थ र पम्फा भुसालले ऊर्जा मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन् ।

    अब उपप्रधानमन्त्री सहित एक जना नयाँ नेताले सरकारमा माओवादीको प्रतिनिधित्व गर्नुपर्नेछ । जसमा प्रवक्ता नारायणकाजी श्रेष्ठले दरो दाबी र लबिङ गरेका छन् । उनले उपप्रमसहित परराष्ट्र वा शिक्षा मन्त्रालयमा दाबी गरेका छन् ।

    तर अर्कोतिर श्रेष्ठलाई सरकारमा जान नदिन गृहजिल्ला गोरखासहित विभिन्न जिल्लाका पुराना नेता तथा तत्कालीन जनमुक्ति सेनाहरुले एकढिक्का भएर प्रचण्डमाथि दबाब बढाइरहेका छन् । यस्तोमा प्रचण्ड चेपुवामा परेको एक नेताले बताए । उनका अनुसार नारायणकाजीलाई छोड्दा पार्टी फुट्न सक्ने भय प्रचण्डलाई छ । मन्त्री नबनाए जुनसुकै कदम चाल्ने नारायणकाजीले आफ्नो सर्कलमा बताउँदै आएका छन् ।

    जसमा प्रचण्ड झस्किएका छन् । अर्कोतिर आफ्नो पार्टीभित्रको कारर्यकर्ताको चासो कसरी सम्बोधन गर्ने भन्ने तनाव प्रचण्डलाई छ । दोहोरो चेपुवामा परेका प्रचण्ड एमाले वरिष्ठ नेता माधव नेपाल र प्रधानमन्त्री देउवाको शरणमा पुगेका छन् ।

    प्रचण्ड नारायणकाजीलाई लगेर मंगलबार माधव निवास कोटेश्वरमा छलफल गरेका छन् । माधवले मध्यस्तताको प्रयास गरे पनि नारायणकाजी नमानेको बुझिएको छ । यद्यपि नारायणकाजी सार्वजनिक रुपमा भने आफूले सरकारको नेतृत्व गर्न प्रचण्डलाई कुनै दबाब नदिएको दाबी गर्दै आएका छन् । नारायणकाजीसँगै कृष्णबहादुर महराले पनि माओवादीबाट सरकारको नेतृत्व गर्न लबिङ गरिरहेका छन् । नारायणकाजीका विषयमा प्रचण्डले प्रधानमन्त्री देउवासँग पनि कुरा गरेका छन् ।

    तर देउवाले संविधान नमिच्ने भन्दै नारायणकाजीलाई मन्त्री नबनाउने स्पष्ट पारेका छन् । प्रतिनिधिसभा चुनाव हारेका नारायणकाजी संविधानको धारा ७८ (४) अनुसार मन्त्री बन्न पाउने अवस्था छैन ।

    उपधारा ४ मा ‘तत्काल कायम रहेको प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएको व्यक्ति त्यस्तो प्रतिनिधिसभाको कार्यकालमा उपधारा १ बमोजिम मन्त्री पदमा नियुक्तिका लागि योग्य हुने छैन’ लेखिएको छ ।

    देउवाले यहीँ धारामा टेकेर श्रेष्ठलाई नियुक्ति गर्दा विवाद बढ्ने भन्दै नारायणकाजीलाई मन्त्री बनाउन नसकिने जवाफ प्रचण्डलाई दिएका छन् ।

    यसले पार्टी फुटमा कस्तो असर पार्ला हेर्न बाँकी छ ।

    श्रावण २१, २०७८ बिहिवार ०८:०३:५१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # माओवादी

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana