Logo

सोमवार, आश्विन ४ गते २०७८

चीनले भूमि मिचेको पत्ता लाउन देउवाले टोली खटाउँदा तनावमा प्रचण्ड, एक्कासी सक्रिय भयो चिनियाँ दूतावास

चीनले भूमि मिचेको पत्ता लाउन देउवाले टोली खटाउँदा तनावमा प्रचण्ड, एक्कासी सक्रिय भयो चिनियाँ दूतावास

नेपालपाना भाद्र २९ २०७८
  • 5.7K
    SHARES
  • चीनले भूमि मिचेको पत्ता लाउन देउवाले टोली खटाउँदा तनावमा प्रचण्ड, एक्कासी सक्रिय भयो चिनियाँ दूतावास

    काठमाडौं । हुम्लाको लिमी लाप्चासहित नेपाल-चीन सीमामा देखिएको सीमा विवाद अध्ययन गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले छानविन समिति बनाएपछि सत्ता गठबन्धनमा चिन्ता छाएको छ ।

    खासगरी चीननिकट नेताहरु माओवादी अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादव चिन्तित बनेका छन् । चीनले भूमि मिचेको सीमावासी नागरिकको गुनासोलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले छानविन समिति बनाउँदा चीन निकट नेताहरु आत्तिएका हुन् ।

    यद्यपि सत्ता गठबन्धनका नेता आत्तिए पनि एक इन्च भूमि नछोड्ने रणनीतिका साथ देउवाले चिनियाँबाट अतिक्रमण भएको लाप्चासहित क्षेत्रमा अध्ययन टोली खटाएका हुन् । केन्द्रमा सत्ता गठबन्धनका नेताहरुले असन्तुष्टि जनाउँदा जिल्लामा पनि चलखेल सुरु भएको छ ।

    माओवादीले आफ्नो पार्टीबाट निर्वाचित जिल्ला र स्थानीय तहका जनप्रतिनिधिलाई सरकारी छानविन टोलीविरुद्ध माहोल बनाउन खटाएको छ । अघिल्लो वामपन्थी सरकारले चिनियाँ अतिक्रमण ढाकछोप गरेका बेला अहिले सत्ता गठबन्धनका वामपन्थी दलले पनि चिनियाँ बदमासी बाहिर आउन नदिन सबै संयन्त्र परिचालन गरेका हुन् ।

    गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्यको नेतृत्वमा टोली अहिले लाप्चामा छानविनमा छ । तर छानविनलाई सोही क्षेत्रको नाम्खा गाउँपालिका अध्यक्ष विष्णुबहादुर तामाङले असहयोग गरेका छन् । उनी माओवादी केन्द्रबाट निर्वाचित हुन् । प्रचण्डको निर्देशनमा काठमाडौं आएर, चिनियाँ राजदूतावासका अधिकारीसँग भेटेर चीनले भूमि नमिलेको भनेर अभियान चलाउँदै हिँडेका छन् । अध्यक्ष तामाङ तिनै व्यक्ति हुन् जसले कुनै समय चीनले सीमा मिचेको भनेर छानविनको माग गरेका थिए । तर केन्द्रमा चिनियाँसँग मन मिलेपछि उनी अहिले विवाद नै नभएको भनेर जिकिर गर्दै हिँडेका छन् ।

    अध्यक्ष तामाङलाई माओवादी अध्यक्ष प्रचण्डले नै खटाएको बुझिएको छ । आफ्नो गाउँपालिका भन्दा अधिकांश समय काठमाडौंमै रहने तामाङले प्रचण्डसँगै चिनियाँ प्रतिनिधि पनि भेटिसकेका छन् । आफ्नो बलबुताले भ्याएसम्म तामाङले चीनले सीमा मिचेको छैन भन्ने न्यारेटिभ तयार पार्न खोजेका छन् । तर सरकारी टोली छानविनमा सक्रिय छ । रोकिएको छैन ।

    सरकारी छानविन टोलीले काम अघि बढाएपछि प्रचण्ड आत्तिएको बताइएको छ । अर्कोतिर सरकारले अध्ययन टोली बनाएसँगै चिनियाँ दूतावासबाट विभिन्न नेता, प्रशासन, सम्बन्धित गाउँपालिका प्रमुख–उपप्रमुखहरूसँग भेटघाट तीव्र बनाइएको उच्च स्रोतको दाबी छ । छानविन टोलीको अध्ययनमा प्रभावित पार्ने प्रयास भइरहेको छ ।

    चिनियाँ अधिकारीहरूले हुम्लाका जनप्रतिनिधिहरूलाई पनि पटक–पटक भेटिसकेको बताइएको छ । सीमा विवादबारे अध्ययन टोली उता रहेको समयमा उनीहरूको भेटघाटको गहिरो अर्थ रहेको बताइएको छ । यसअघि हुम्लाको मिचिएको विषय देउवा सरकारको कार्यक्रममा समेट्न माओवादी केन्द्रले असहमति जनाइसकेपछि सो विषयलाई घुमाएर लेख्नुपरेको कार्यदलका एक सदस्यले बताएका थिए ।

    माओवादीले हुम्लाको लिमीमा अतिक्रमण भएको कुरालाई कार्यक्रममा समेट्न असहमति जनाएपछि कार्यदलमा तनाव उत्पन्न भएको थियो । तत्कालीन समयमा चीनसँग सीमा जोडिएको हुम्लामा १० वटा मुख्य तथा सहायक सीमा स्तम्भमा गरिएको निरीक्षणका क्रममा ५ वटामा चीनले अतिक्रमण गरेको पाइएको थियो ।

    नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवन बहादुर शाही नेतृत्वको, स्थानीय जनप्रतिनिधि र पत्रकारहरूसहितको टोलीले हुम्लाको सीमामा जोडिएको ४ नम्बर सीमा स्तम्भ बाहेक ५ देखि १२ सम्मका सबै मुख्य तथा सहायक स्तम्भहरूको निरीक्षण गरेको थियो ।

    सिमकोटबाट सीमा अवलोकनका लागि गएका नेता शाहीको टोली नेपाली भूमि नाम्खा गाउँपालिकाको वडा नम्बर ६ को लिमी क्षेत्रको लाप्चामा पर्ने ललोङजोङमा पुगेपछि त्यहाँ चिनियाँहरूले नेपाली भूमिमै भवनहरू बनाएको पाएको उनले बताएका थिए । उनले चिनियाँहरूले नेपाली भूमिमै घरहरू बनाएको दाबी गर्दै दुवै देशका सीमा विज्ञ र स्थानीयको उपस्थितिमा यथाशक्य चाँडो अध्ययन तथा अनुगमन गर्न समेत सरकारसँग माग गरेका थिए ।

    उनको भ्रमणपछि नेपाली काँग्रेसले तत्कालीन केपी ओली सरकारलाई सीमा विवादबारे जानकारी गराएको थियो । कांग्रेसका उपसभापति विमलेन्द्र निधी, महामन्त्री डा. शशाङ्क कोइराला लगायतका नेताहरूले सरकारसँग उक्त विवादबारे जानकारी मागेका थिए । ओली सरकारले तत्कालीन समयमा कुनै अध्ययन बिनै सीमा नमिचिएको बताएको थियो । चिनियाँहरूले भवन बनाएको ठाउँभन्दा पर ग्यापुदोचा भन्ने ठाउँको पानी ढलो भएदेखि यता नेपाल उता चीन रहेकोमा उनीहरूले अतिक्रमण गरी भवनहरू बनाउँदा पनि सरकार सीमा मिचिएको होइन भनेर बसेकामा नाम्खा ६ का वडा अध्यक्ष पाल्जोर तामाङ गुनासो गर्छन् ।

    वडा अध्यक्ष पाल्जोर तामाङले चिनियाँहरूले करिब डेढ किलोमिटर वर ललुङजोङको नेपाली भूमीमा आएर भवनहरू बनाएको बताएका थिए । नाम्खाका उपाध्यक्ष पेमा तामाङले पनि भवनहरू नेपाली भूमिमै बनेको पाइएको बताए ।

    भवनहरू नेपाली भूमिमा रहे पनि सरकारले हतारोमा सो भूमि चीनकै स्वामित्वमा रहेको बताउँदा स्थानीयहरू भने चिन्तितसँगै आक्रोशित भएको उनले बताएका थिए ।

    भाद्र २९, २०७८ मंगलवार १०:२९:१७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # हुम्ला_सीमा_विवाद

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana