काठमाडौं। नेपाललाई हिन्दूराष्ट्र बनाउने अभियान बोकेर सक्रिय रहेको पूर्वप्रधानसेनापति रुक्माङ्गद कटवालले आफ्नो अभियान विदेशसम्म पुगाएका छन् ।
हिन्दूराष्ट्र स्वाभिमान जागरण अभियानका राष्ट्रिय संयोजक रहेका कटवालले अभियान बोकेर अमेरिकामा विविध कार्यक्रम र भेटघाट गरेका हुन् ।
हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानको भाद्र ३ गते विधिवत उद्घाटन भएपश्चात् अमेरिका भ्रमणमा रहेका कटवालले अमेरिकामा रहेका हिन्दूहरूलाई २८ भाद्रमा नर्थ क्यारिलिनामा सम्बोधन गर्दै हिन्दूराष्ट्रमा जोड दिएका छन् ।
उनले भनेका छन् “नेपाल सनातन–कालदेखि एउटा विशिष्ट हिन्दू जीवन पद्धतिमा आफूलाई स्थापित गर्दै आएको छ । र, त्यो जीवनपद्धति नै नेपालको संस्कृति हो ।”
सामाजिक, सांस्कृतिक एवं आध्यात्मिक आधारमै पनि नेपाल हिन्दू राष्ट्र रहेको उल्लेख गर्दै उनले भने, “लाखौँ मन्दिरहरू, देवालय, शक्तिपीठ, पवित्र कुलपर्वत९ हिमालयले सुशोभित राष्ट्रका पावन नदीहरूको कलकल निनादसँगै यहाँका नागरिकहरूले पनि निरन्तर ‘सर्वे भवन्तु सुखिनः’ भनी विश्व कल्याणको विचार प्रवाह गरिरहेका छन् । यो ऋषिभूमि हो, वेदभूमि हो । हाम्रा ऋषि महर्षिहरूले वसुधैव कुटुम्बकम् भनी विश्वलाई एउटा परिवारका रूपमा हेर्ने दृष्टिकोण दिए ।”