Logo

शुक्रवार, जेठ १३ गते २०७९

images

बल्ल साक्षर भयो दशेको राजधानी काठमाडौँ

बल्ल साक्षर भयो दशेको राजधानी काठमाडौँ

नेपालपाना आश्विन ४ २०७८
  • 6.8K
    SHARES
  • बल्ल साक्षर भयो दशेको राजधानी काठमाडौँ

    काठमाडौँ। सङ्घीय मुलुकको राजधानी काठमाडौँ जिल्ला बल्ल साक्षर घोषित भएको छ । साक्षर घोषणा हुनेमध्ये काठमाडौँ ५५औँ जिल्लामा परेको छ । देशभरबाट आएर बस्ने यहाँका स्थायी र अक्सर बसोबास गर्ने बासिन्दालाई आँकडामा समावेश गरेर यो घोषणा गरिएको छ । 

    काठमाडौँका विभिन्न पालिकास्तरमा साक्षर घोषणा भइसकेपछि समग्र जिल्लाको ९६ दशमलव ८८ प्रतिशत साक्षरता भएको मानेर आज जिल्लालाई पूर्ण साक्षर घोषणा गरिएको हो । अब काठमाडौँका १० वटा नगरपालिकामा स्थायी बासिन्दा रहेका साक्षर हुन बाँकी नागरिक १८ हजार ५३ रहेको काठमाडौँका शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख नन्दलाल पौडेलले जानकारी दिनुभयो । उहाँले उक्त आँकडा दुई वर्ष अघिको भएको र त्यसपछि पनि निरन्तर साक्षरताका कार्यक्रम जारी रहेकाले उक्त निरक्षर सङ्ख्या घट्दो भएको बताउनुभयो । 

    काठमाडौँ महानगरपालिका बाहेक अन्य पालिकाले घरधुरी सर्वेक्षणसहित अस्थायी बासिन्दालाई पनि गणना गरेका थिए । चालु आवमा भने साक्षर घोषणा हुने काठमाडौँ पहिलो जिल्ला भएको छ । यसअघि पछिल्लो समय अछाम जिल्ला साक्षर घोषणा भएको थियो भने प्रदेश नं २ का आठ जिल्लासहित अझै २२ जिल्ला साक्षर घोषणा हुन बाँकी छ । साक्षर नेपाल अभियानले १५ वर्ष र ६० वर्ष उमेर समूहका ९५ प्रतिशतभन्दा बढी नागरिक साक्षर भएको सुनिश्चित गरिएका क्षेत्र, जिल्ला वा राष्ट्रलाई साक्षर घोषणा गर्न सकिने मापदण्ड बनाएको छ । नेपालमा २०७२ असार २ गते ९७ दशमलव ६८ प्रतिशत साक्षरतासहित सिन्धुपाल्चोक पहिलो साक्षर जिल्ला घोषणा भएको थियो । 

    प्रमुख पौडेलका अनुसार काठमाडौँको शङ्खरापुरमा ९६ दशमलव ०५, कागेश्वरी मनहरामा ९६ दशमलव ९७, गोकर्णेश्वरमा ९५ दशमलव ०४, बूढानीलकण्ठमा ९८ दशमलव ६९, टोखामा ९८ दशमलव ५४, तारकेश्वरमा ९८ दशमलव ०८, नागार्जुनमा ९७ दशमलव ०८,  चन्द्रागिरिमा ९६ दशमलव ४७ र दक्षिणकालीमा ९५ प्रतिशत नागरिक साक्षर भएको यसअघि विभिन्न मितिमा घोषणा भइसकेको छ । 

    आश्विन ४, २०७८ सोमवार १९:५३:५४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # समाचार

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend