काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्रसंघीय महासभामा खोपमा प्राप्त गरेको सफलतादेखि अफगानिस्तानमा तालिबानको ज्यादतीको मुद्दा उठाएका छन् ।
शनिबार राती राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै मोदीले प्रजातन्त्रदेखि विविधतासम्म, आतंकवादविरुद्धको लडाईदेखि खोपसम्म भारतले प्रगति गरेको र यो विश्वकै लागि सुखद भएको बताए ।
मोदीले राष्ट्रसंघका सदस्यहरुलाई अफगानिस्तानलाई नजरअन्दाज नगर्न पनि आह्वान गरे ।
अफगानिस्तानमा महिला, बालबालिका र अल्पसंख्यकहरुको अधिकारको रक्षाका लागि अन्तर्राष्ट्रिय समुदायको सहयोगको आवश्यकता रहेको मोदीले औल्याए ।
मोदीले कोही पनि देशले अफगानिस्तानको नाजुक स्थितिको फाइदा उठाउने प्रयास गर्न नहुने र आफ्नो स्वार्थका लागि प्रयोग गर्न नहुनेमा जोड दिए ।
चीन र पाकिस्तानतर्फ संकेत गर्दै मोदीले अफगानिस्तानको उपयोग आतंकवाद फैलाउने र आतंकवादी हमलका लागि हुन नहुनेमा पनि अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराए ।