कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले फरार अभियुक्त पक्राउ अभियानलाई तीव्रता दिएको छ ।
जिल्लामा एसपी दानबहादुर कार्की प्रहरी प्रमुख भएर आएपछि फ्युगिटी एरेस्ट प्रोग्राम (फ्याप) कार्यक्रम सञ्चालन गरी विगतमा विभिन्न मितिमा कर्तव्य ज्यान, लागुऔषध, लुटपाट, कुटपिट, चेक अनादर, सवारी ज्यान, जुवाजस्ता कसुरमा फरार अभियुक्तहरु धमाधम समातिन थालेका हुन् ।
जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार चालु आवको चार महिनामा ४८६ जना पक्राउ परेका छन् । साउनमा २८९ जना, भदौमा १२७, असोज ४८ र कात्तिकमा २२ जना पक्राउ परेका छन् । यस वर्ष फरार अभियुक्तमध्ये २० वर्षपछि पक्राउ पर्ने ३५ जना, १५ वर्षपछि पक्राउ पर्ने ३६ जना, १० वर्षपछि पक्राउ पर्ने १४० जना, ५ वर्षपछि पक्राउ पर्ने १५८ जना र ५ वर्षभन्दा कम अवधिदेखि फरार रहेका ११७ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जसमा हत्या गरी अदालतबाट २० जन्मकैद सजाय पाएर फरार रहेका व्यक्तिहरु समेत छन् ।
‘अपराध गरेर समाजलाई दुषित पारेर विभिन्न आवरणमा त्यही समाजमा लुकेर बसिरहेको प्रहरीले टुलुटुलु हेरेर बस्दैन । बरु अपराध गर्नेहरू एक दिन अवश्य कानूनको दायरामा आउनै पर्छ भन्ने सन्देश दिन यो कार्यक्रमलाई तीब्रता दिएका हौं,’ जिल्ला प्रहरी प्रमुख एसपी कार्कीले भने । गत वर्षको आवको चार महिनामा ८१ जना फरार अभियुक्त पक्राउ परेका थिए ।
साउनमा एक जना, भदौमा शून्य, असोजमा ४० र कात्तिकमा ४० जना समातिएका थिए । यसपालि भने उक्त अवधिमा ४८६ जना पक्राउ परेका हुन् । कपिलवस्तु प्रहरीले चार महिने उपलब्धीमा १ कात्तिकमा मायादेवी गाउँपालिका वडा नं.४ चाकरचौडा स्थितमा चेकजाँच गर्ने क्रममा लागु औषध ब्राउन सुगर ९२ ग्राम ४२ मिलि ग्राम बरामद गरेको छ ।
कारोवारी बिजय खत्रीलाई पक्राउ गरेर मुद्धा चलाएको छ । कपिलवस्तु प्रहरीले मुद्दा फर्स्यौटलाई पनि प्राथमिकता दिएको छ । असोजमा ४४ मा २१ र कात्तिकमा ६६ मा ३३ मुद्दा फर्स्यौट गरेको छ । चालु आवको चार महिनामा पाँच करोड ३१ लाख ४० हजार ७७२ रुपैयाँ राजश्व संकलन गरेको छ ।
यो गत वर्षको चालु आवको चार महिनामा संकलित राजश्वभन्दा अढाई करोडभन्दा बढी हो । कपिलवस्तु प्रहरीले आन्तरिक प्रशासनिक तथा भौतिक संरचना सुधारलाई पनि प्राथमिकता दिएको छ ।
हिन्दु र मुस्लिम समुदायबीच सधै लफडा हुने, कहिलेकाही हिंसात्मक घटना हुने दसैं, तिहार तथा छठ पर्वको मूर्ति विसर्जन अवधिभर यसपालि विशेष सुरक्षा योजना बनाएर कपिलवस्तु प्रहरीले कुनै पनि कसिमको अप्रिय घटना हुन दिएन । शान्तिपूर्ण रुपले मूर्ति विसर्जन भएको एसपी कार्कीले जानकारी दिए ।