एजेन्सी। माइक्रो ब्लगिङ साइट ट्विटरका सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्याक डोर्सीले राजीनामा दिएपछि भारतीय मूलका पराग अग्रवाल सीईओमा नियुक्त भएका छन्।
राजीनामा दिनुअघि डोर्सीले आगामी जिम्मेवारी अग्रवाललाई सुम्पिने घोषणासमेत गरेका थिए। स्टानफोर्डबाट पीएचडी हासिल गरेका ३७ वर्षीय अग्रवाल कम्प्युटर वैज्ञानिक हुन्। उनले चाडै नै आफ्नो जिम्मेवारी सम्हाल्ने बताइएको छ।
भारतको चर्चित आईआईटी बम्बेका विद्यार्थी अग्रवालले ट्विट गर्दै आफ्नो नयाँ भूमिकाबारे उत्साहित रहेको प्रतिक्रिया दिएका छन् । सीईओ पद छाडे पनि डोर्सी आगामी वर्षसम्म ट्विटरको बोर्ड सदस्यको रुपमा सक्रिय हुने बताइएको छ ।
‘हामीलाई अहिले विश्वले नै हेरिरहेको छ । यो जानकारीबारे धेरै मानिसको धेरै खाले धारणा हुन सक्छ किनकी उनीहरु सबैले ट्विटर र हाम्रो भविष्यप्रति चासो राख्छन्,’ अग्रवालले ट्विटमा लेखेका छन् ।