काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले जनकपुरधामस्थित रामजानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्ने बताएका छन् ।
श्रीराम जानकी विवाह महोत्सव, २०७८ को अवसर पारेर मिथिला संस्कृति समाजले आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले धार्मिक र सांस्कृतिक हिसाबले सम्पन्न मैथिली सभ्यताको धरोहरका रूपमा रहेको रामजानकी मन्दिरलाई जतिसक्दो छिटो विश्वसम्पदा सूचीमा सूचीकृत गर्न आफूले भरपूर कोसिस गर्ने बताएका हुन् ।
विश्वभरका हिन्दूको आस्थाको केन्द्रका रूपमा रहेको प्राचीन मिथिलाको राजधानी जनकपुरमा अवस्थित जानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउन पहल भइरहे पनि त्यसले मूर्तरूप लिनसकेको छैन । मैथिल सभ्यताका अगुवाहरूले जनकपुरधामलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन लामो समयदेखि पहल गर्दै आइरहेका छन् ।
रामजानकी मन्दिरमा भगवान् श्रीरामको जन्मका अवसरमा हरेक चैतमा रामनवमी, वैशाखमा जानकी नवमी, मङ्सिरमा रामजानकी विवाह महोत्सवलगायत विविध सांस्कृतिक कार्यक्रम हुँदै आएको छ । यही मङ्सिर २२ गते विवाह पञ्चमी परेको छ । तीन वर्ष अगाडि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विवाह पञ्चमीका दिन जानकी मन्दिरको पूजाअर्चना गरेका थिए ।