काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता डा. भीमबहादुर रावलले संसद अवरुद्ध नगर्न अध्यक्ष केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन् । जनताको आवाज उठाउन दिनुपर्ने उनको माग छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदबाट निर्णय गराई राष्ट्रपतिबाट २८ मंसिरमा संसद अधिवेशन आह्वान गराएका छन् । संसदबाट नागरिकता लगायत महत्वपूर्ण विधेयक पारित गर्ने देउवाको तयारी छ । तर दोस्रोपटक अध्यक्ष निर्वाचित ओलीले पदबहालीका क्रममा २८ गते आह्वान गरिएको संसद अधिवेशन अवरुद्ध गर्ने बताएका छन् ।
यस्तो बेला रावलले सरकार तथा प्रधानमन्त्री देउवालाई समर्थन गर्दै जनताका आवाज बोल्न दिनुपर्ने धारणा राखेका हुन् ।
सरकारले काम गर्नेगरी अवरुद्ध गरेको कुनै औचित्य नहुने उल्लेख गर्दै उनले यो म कुटे जस्तो गर्छु तँ रोए जस्तो गर भनेझैं भएको बताए ।
'संसद देश र जनताको पक्षमा वहस गर्ने र आवाज उठाउने थलो हो । सरकारका सबै काम कारवाही हुन दिई संसद अवरूद्ध गरेको भन्नुको औचित्य छैन,' उनले भनेका छन्, 'कि सरकारले ल्याउने विधेयक र प्रस्ताव रोक्नसक्नु पर्योस । नभए त्यसबारे जनताको आवाज उठाउन पाउनु पर्यो । अन्यथा म कुटे जस्तो गर्छु तँ रोए जस्तो गर भने झैं ठहर्छ ।'