Logo

बुधवार, आषाढ २२ गते २०७९

images

सभापतिको दाबी छाडेर देउवा क्याम्पमा लागे शेखर कोइराला, यसरी हराइदिए पौडेल समूहका चर्चित नेतालाई

सभापतिको दाबी छाडेर देउवा क्याम्पमा लागे शेखर कोइराला, यसरी हराइदिए पौडेल समूहका चर्चित नेतालाई

नेपालपाना मंसिर २० २०७८
  • 43.0K
    SHARES
  • सभापतिको दाबी छाडेर देउवा क्याम्पमा लागे शेखर कोइराला, यसरी हराइदिए पौडेल समूहका चर्चित नेतालाई

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं कोइराला परिवारका हस्ती शेखर कोइरालाले आफ्नै समूहका नेतालाई पराजित गरेका छन् । 

    यससँगै केन्द्रीय सभापति पदमा दाबेदारी प्रस्तुत गर्दै आएका शेखर त्यसबाट पछि हटेर संस्थापन पक्ष अर्थात शेरबहादुर देउवा समूहमा आएको चर्चा चलेको छ । 

    यसअघि रामचन्द्र पौडेल समूहमा रहेका शेखरले प्रदेश नम्बर १ अर्थात कोइराला परिवारको गढ मानिने पूर्वमा पौडेल समूहबाट उम्मेदवार रहेका चर्चित युवा नेता गुरुराज घिमिरेलाई हराइदिएका छन् । 

    शेखरले गुरु घिमिरेलाई आफ्नो मत नदिएर असहयोग गर्दा पराजित हुन् पुगेका छन् । आफूले पौडेल समूहका उम्मेदवार गुरुलाई मत नदिएर शेखरले देउवा समूहका उम्मेदवार उद्धव थापालाई जिताएका छन् । सिर्फ दुई मतले थापा जितेका छन् । यदि शेखरले मत हालेको भए मात्रै पनि नतिजा बराबरी हुने थियो ।

    तर उनले हालेनन् । उनीसँगै उनकी बहिनी सुजाता कोइरालाले पनि मत हालिनन् । सुजाता पनि पछिल्लो समय पौडेल समूह छाडेर देउवातिर नजिकिएकी छिन् । त्यस्तै गिरिजा दाहिने हात मानिने महेश आचार्यले पनि भोट नै हालेनन् । पौडेल समूहका बलबहादुर केसीले पनि मत हालेनन् । यदि यी चार जनाले मत हालेको भए गुरु घिमिरे उल्टै दुई मत अन्तरले जित्ने थिए । तर नतिजा बराबरीमा ल्याउने अवस्था भएका शेखरले नै मत दिएनन् । 

    शेखरले खुल्लम खुल्ला आफूले मत हाल्न उपयुक्त नलागेपछि नहालेको प्रतिक्रिया दिएका छन् । 'कांग्रेस १४औं महाधिवेशनमा प्रदेशस्तरसम्म केन्द्रीय नेताहरुले मतदान गर्न पाउने वा नपाउने विषय शुरुदेखि नै “संशय” थियो,' उनले भनेका छन्, 'कानुनी परामर्शबाट मतदान गर्दा भविष्यमा जटिलता आउन सक्ने बुझियो । तसर्थ मतदान नगर्नु उपर्युक्त ठानें ।'

    विधान देखाउँदै मतदान नगरेको बहाना शेखरले देखाएका छन् । तर सम्बन्धित प्रदेशका केन्द्रीय सदस्यले प्रदेश अधिवेशनमा मत हाल्न पाउने स्पष्ट व्यवस्था विधानमा उल्लेख छ । यसबाट शेखरले नियोजित रुपमै मत नहालेको पुष्टि हुन्छ । 

    शेखरले नै देउवा क्याम्पमा लागेको सन्देश दिनेगरी गुट परिवर्तन गरेपछि पौडेल समूहका कार्यकर्ताले आक्रोश पोखेका छन् । जानकार स्रोतकाअनुसार पौडेलले प्रकाशमान सिंहलाई सभापतिको उम्मेदवार बनाउने भएपछि शेखर चिढिएको बताइन्छ । जसका कारण उनले मत नहालेर असन्तुष्टि देखाए । साथै उनको पछिल्लो समय देउवासँग सुजातासहित सम्वाद भइरहेको बुझिएको छ ।

    मंसिर २०, २०७८ सोमवार २०:४६:३४ बजे : प्रकाशित

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend