काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापति पद फेरि उठ्ने तयारीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई साथ दिन अपिल गरेका छन् । फेरि सभापतिमा चुनिए आफूले अझ राम्रो काम गर्ने देउवाको भनाइ छ ।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा देउवाले पार्टीको विधानबमोजिम एक पटक सभापति बन्न चाहेको बताए । आफू सभापति बन्ने यो मौका अन्तिम पटक भएको उनको भनाइ थियो ।
उनले भने, 'म पार्टीको विधानबमोजिम एक पटक सभापति बन्न चाहेको छु । यो अन्तिम पटक हो । म प्रधानमन्त्री पनि छु । यो मुलुकको व्यवस्थाको रक्षाका लागि गठबन्धनको नेतृत्व गर्दै प्रधानमन्त्री भएको हुँ । मैले फेरि सभापति भए भने अझै राम्रो गर्न सक्छु । त्यसैले मैले पार्टीका साथीहरूलाई पनि आग्रह गरेको छु । तपाईंहरूमार्फत सबैलाई आग्रह गर्न चाहन्छु । एकपटक मलाई सहयोग गरिदिनुस् ।'
त्यसो त देउवालाई पूर्वमहामन्त्री एवं कांग्रेसभित्र तेस्रो धार मानिने कृष्ण सिटौलाले पनि सघाउने संकेत गरेका छन् । वडा र क्षेत्रीय तथा जिल्ला अधिवेशनमा सिटौलासँग देउवाको सहकार्य भइसकेको छ । सिटौलाको ग्रीन सिग्नल पाएका देउवाले आफ्नो सभापतिमा बलियो दाबेदारी प्रस्तुत गरेका छन् ।