काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट सभापतिमा प्रधानमन्त्री शेरबहादुर देउवा फेरि निर्वाचित हुने निश्चित भएको छ ।
रामचन्द्र पौडेल समूह फुटेर चिराचिरा भएको, पौडेल महाधिवेशन प्रक्रियामा सहभागी नभएको र पौडेल समूह आफैमा भिडेपछि देउवाको जित सुनिश्चित भएको विभिन्न विश्लेषणहरुले देखाएको छ ।
पौडेल समूहबाट शेखर कोइराला, प्रकाशमान सिंह, कल्याण श्रेष्ठ र युवराज न्यौपानेको उम्मेदवारी परेको छ । एकै समूहबाट यति धेरै उम्मेदवारी परेपछि देउवा सभापतिमा लामो मतान्तरले निर्वाचित हुने निश्चित भएको हो ।
विश्लेषकहरुका अनुसार देउवासँग निर्णायक मानिने कृष्ण सिटौला पक्ष मिलेको, विजय गच्छदारदेखि सुनिल थापासम्म देउवासँग रहेकाले सहज जित हुनेछ ।
प्रारम्भिक सर्वेक्षणमा देउवाले पहिलो राउण्डमै ५५ प्रतिशतभन्दा बढी मत ल्याउने देखिएको छ । सभापतिमा देउवा सुनिश्चित भए पनि अन्य पदमा भने मिश्रित परिणाम आउने, दुबै पक्षको मिक्स हुने सर्वेक्षणमा देखिएको छ ।
प्रजातन्त्रलाई संस्थागत गर्न पाका र अनुभवी तथा परिपक्व नेतृत्व देउवा नै भएको ठहर धेरै नेता कार्यकर्ताको रहेको छ ।