काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले एमालेले संसदमा गरिरहेको अवरोधलाई लिएर एमालेको तर्क, शक्ति र बौद्धिकता, मर्यादा र संवैधानिकता सिद्धिएको टिप्पणी गरेका छन् । प्रतिनिधि सभा बैठकमा एमालेको अवरोध भएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले यस्तो टिप्पणी गरेका हुन् ।
उनले भने, ‘यो एउटा अराजकतावादी कुरा हो। जोसँग तर्कहरु सिद्धिन्छन्, शक्ति सिद्धिन्छ। बौद्धिकता सिद्धिन्छ। मर्यादा सिद्धिन्छ। सवैधानिकता सिद्धिन्छ। त्यस्ता मानिसहरु बल प्रयोगमा लाग्छन्। मुर्खतापूर्ण बल प्रयोग। यो मुर्खतापूर्ण बल प्रयोगभन्दा बढ्ता केही पनि होइन। संसद जनताको आवाज उठाउने, राष्ट्रका आवाज उठाउने, जनताका विभिन्न समस्याहरु उठाउने थलो हो।’
उनले थपे, ‘राष्ट्रका नीति, कार्यक्रम, बजेट, ऐन, कानूनहरु, संकल्पहरु निर्माण गर्ने थलो हो यो। यो थलोलाई नै बन्द गरेपछि, बन्धक बनाएर राखेपछि राष्ट्र कसरी चल्छरु यो राष्ट्रलाई नै चल्न नदिने, राष्ट्रलाई अराजकताको खाडलतर्फ लाने धुन्धुकारी प्रवृत्ति हो। धुन्धुकारी प्रवृत्तिबाट प्रतिपक्षी पार्टीको नेतृत्व ग्रस्त छ।’