काठमाडौं। सूचना प्रविधिको विकास र अनलाइन खाना तथा अन्य घरायसी प्रयोगको सामग्री मगाउने क्रम बढेसँगै वीरगञ्जमा फुड रेज नामक नयाँ अनलाइन फुड डेलिभरी सेवा सञ्चालनमा आएको छ।
स्थानीय युवा जोया अन्सारी र अभिराज चौरसियाले संयुक्त रूपमा सञ्चालनमा ल्याएको सेवाको आज पर्सा निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादवले उद्घाटन गरेका छन् ।
इन्टरनेटको फुड रेज डट कम र मोबाइलमा एण्डरोइड एप डाउनलोड गरेर सुविधा लिन मिल्ने सेवाको सांसद यादवले उद्घाटन गर्दै सूचना प्रविधिले सबै कुरा सरल बनाएको बताए । उनले युवाहरुले सूचना प्रविधिको प्रयोग गरेर वीरगञ्जको लागि गरिरहेको नौलो काम देखेर खुसी व्यक्त गर्दै स्वदेशमा बसी प्रविधिको प्रयोग गरेर पनि राम्रो आम्दानी गर्न सकिने यस्ता युवाहरु अरूको लागि उदाहरण बन्ने बताए । यादवले यस्ता नयाँ र इनोभेटिभ प्रयास गर्ने युवाहरुलाई सबैले मिलेर प्रोत्साहन गर्नुपर्ने सुझाव दिए ।
२० लाख रुपैयाँको लगानीमा सञ्चालित फुड रेजले हाल वीरगञ्जमा मात्र सेवा दिरहेपनी आगामी दिनमा यसको सेवा अन्य सहरमा पनि विस्तार गर्ने सञ्चालकहरुको भनाई छ ।
फुड रेज मार्फत वीरगञ्जको लगभग सम्पूर्ण रेष्टुराँ र होटलबाट खाने कुराहरू अर्डर गर्ने मिल्ने सञ्चालक अभिराज चौरसियाको भनाई छ ।
चौरसियाले फुड रेज मार्फत खाने कुरासँगै किराना सामग्री, मादक पदार्थ लगायतका सामानहरू पनि अर्डर गर्न मिल्ने बताए । अर्डर गरेको सामग्री २० देखि ४० मिनट भित्र पुग्ने चौरसियाको दावी छ ।
हाल एप मार्फत अर्डर गर्दा १० प्रतिशतसम्म छुट समेतको व्यवस्था गरिएको उनले भने । फुड रेजको एप छिट्टै आईओएसमा पनि उपलब्ध हुने चौरसियाले जानकारी दिए ।