काठमाडौं । सन् २०२० मा सबैभन्दा बढी खोप लगाउँदै अघि बढेको इजरायलले कोरोना भाइरस विरुद्धको खोपको चौथो डोज लगाउन शुरु गरेको छ ।
ओमिक्रोन भेरियन्टको सङ्क्रमण र खतरा बढेसँगै कमजोर प्रतिरक्षा प्रणाली भएका र वृद्ध निवासी र हेरचाह घरहरूमा रहने कर्मचारीहरूलाई चौथो डोज लगाउने इजरायल पहिलो देश बनेको हो ।
शुक्रबार बिहान इजरेलको शेबा मेडिकल सेन्टरमा मुटु र फोक्सो प्रत्यारोपण गरेका व्यक्तिलाई चौथो डोज लगाउँदै यो अभियान शुरु गरेको हो । इजरायलमा फेरि सङ्क्रमण बढ्न थालेको छ ।
गत सेप्टेम्बरयता पहिलो पटक बिहीबार ४ हजार ८५ नयाँ सङ्क्रमित थपिएका छन् । इजरायलले बिहीबारदेखि फेरि थप कडाइ लागु गरेको छ ।
करिब ९३ लाख जनसङ्ख्या रहेको इजरायलमा कोभिड १९ का कारण ८ हजार २ सय ४३ जनाले ज्यान गुमाएका छन् । इजरेलको करिब ६५ लाख जनसङ्ख्याले एक डोज खोप र करिब ४२ लाखले पूर्ण खोप लगाइसकेको छ ।