Logo

बुधवार, जेठ ४ गते २०७९

images

प्रेम आलेको एकपछि अर्को जनप्रिय काम : काम चोर, ठग, दलाल र बदमासहरुको भागभाग

प्रेम आलेको एकपछि अर्को जनप्रिय काम : काम चोर, ठग, दलाल र बदमासहरुको भागभाग

नेपाल पाना पौष २१ २०७८
  • 3.7K
    SHARES
  • प्रेम आलेको एकपछि अर्को जनप्रिय काम : काम चोर, ठग, दलाल र बदमासहरुको भागभाग

    काठमाडौं । सम्पदाभित्र रेष्टुरेन्ट बनाउन दिने तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईको निर्णय उल्ट्याएर चर्चामा छन् बहालवाला संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले ।

    एमाले परित्याग गरेर नेकपा एकीकृत समाजवादी पार्टीमा रहेका आलेले दोस्रो पटकमा पर्यटन मन्त्री बनेपछि धमाधम जनमुखी र आम नागरिकले अनुभूति गर्ने निर्णय गरिरहेका छन् । यसैक्रममा उनले सम्पदा मास्नेगरी अघिल्लो सरकारले अनुमति दिएको नारायणहिटी दरबारभित्र रेस्टुरेन्ट बनाउन रोक लगाएका छन् ।

    नारायणहिटी दरबार सङ्ग्रहालय परिसरमा निर्माण भइरहेको रेस्टुरेन्टको काम आलेले ठाडो आदेश दिएर रोकेका हुन् । पुरातात्त्विक क्षेत्रभित्र रेस्टुरेन्ट बनाउन रोकेपछि मन्त्री आले आम नागरिकस्तरबाट स्याबासी पाएका छन् ।

    यो त एक प्रतिनिधिमुलक घटनामात्रै हो, आलेले यस्ता धेरै काम गरेका छन्, जहाँ नागरिकबाट स्याबासी पाएका छन् । आलेले यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल स्टेशनमा शटल बस सेवा सञ्चालनमा ल्याए । जुन निशुल्क हो । ट्याक्सीवालाबाट आफू समेत ठगिएका मन्त्री आलेले ठगहरुलाई विस्थापित गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई निर्देशन तथा आवश्यक वातावरण बनाइदिएर तीन वटा माइक्रोबसलाई शटल बसका रूपमा सञ्चालनमा ल्याए । यात्रु लुट्ने क्रम अन्त्य गर्न शटल बसको व्यवस्था गर्नुपरेको आलेको भनाइ थियो । यो सेवापछि यात्रु ठगिनबाट जोगिएका छन् । आम यात्रुले प्रत्यक्ष महसुस गर्न पाएको यो सेवापछि विमानस्थलमा ठगहरु किनारा लागे ।

    पर्यटनमन्त्री आलेले वैदेशिक रोजगारीमा जाने यात्रु ठगी वा अन्य कुनै समस्या परेमा विमानस्थलले व्यवस्था गरेको हटलाइनमा फोन गर्ने व्यवस्था गरेका छन् । वैदेशिक श्रम गन्तव्यमा जाने यात्रुका लागि अन्तर्राष्ट्रिय टर्मिनल भवनमा विश्राम घर बनाएका छन् ।

    त्यसैगरी वैदेशिक रोजगारीका लागि विदेश जाने श्रमिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अनावश्यक दुःख दिनेलाई कारबाही गर्ने व्यवस्था गरेका छन् । मन्त्री आलेकै निर्देशनमा नेपाल वायु सेवा निगमले दैनिक ४० जना वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सस्तो दरको टिकट प्रदान गर्दै आएको छ ।

    त्यस्तै आले राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमलाई उकास्न लागि परेका छन् । उनले नेपाल विद्युत् प्राधिकरणसँग कर्मचारी तथा सामान ओसारपसारका लागि सम्झौता नै गराएका छन् ।

    पर्यटनमन्त्री आले र मन्त्रालयका सचिव महेश्वर न्यौपानेको उपस्थितिमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले एमओयूमा हस्ताक्षर गरेका हुन ।

    निगम र प्राधिकरणबीच हवाई टिकट तथा खतराजन्य पदार्थ (डेन्जरस गुड्स) कार्गो ओसारपोसार सम्झौता भयो । जसले गर्दा ऋणमा रहेको नेवानी उकासिन मद्दत पुग्नेछ । आलेले नेपाल एयरलाइन्सलाई निजीकरण हुन पनि दिएनन् ।

    निजी बनाउन लागेका दलालहरुलाई निरुत्साहित गर्दै आलेले सरकारी जहाज वृद्धिमा लागेका छन् । त्यतिमात्रै होइन मन्त्री आलेले बजेट अभावमा स्तरोन्नति हुन नसकेका सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाका विमानस्थलका लागि बजेट विनियोजन गरिदिए । यसअघि आउने मन्त्रीले बजेट दिने आश्वासन दिए पनि आले भने सिधै एक्सनमा उत्रिए । उनले मुखले बोलेनन् व्यवहारमै देखाइदिए ।

    सुदूरपश्चिम प्रदेशको कैलालीको धनगढी, कञ्चनपुरको मझगाउँ, बैतडीको पाटन, दार्चुलाको गोकुलेश्वर, अछामको साँफेबगर, कमलबजार, बझाङ, बाजुरा, डडेल्धुरा र डोटीको दिपायल विमानस्थलका लागि बजेट विनियोजन गरे । कैलालीको धनगढी विमानस्थलका लागि एक अर्ब, अछामको साँफेबगर, कमलबजार विमानस्थलका लागि ६ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

    यस्तै कञ्चनपुरको मझगाउँ विमानस्थलका लागि दुई करोड ५१ लाख ३२ हजार, बैतडीको पाटन विमानस्थलका लागि एक करोड ५० लाख ४४ हजार, दार्चुलाको गोकुलेश्वर विमानस्थलका लागि दुई करोड ६५ लाख ४८ हजार, बझाङ विमानस्थलका लागि १२ लाख ९९ हजार रुपैयाँ विनियोजन गरिएको छ । साथै बाजुरा विमानस्थलका लागि १८ लाख ७६ हजार, डडेल्धुरा विमानस्थल सम्भाव्यता अध्ययनका लागि ५० लाख र डोटी विमानस्थल दुई सय ५० मिटर धावनमार्ग थप गर्न, टर्मिनल टावर निर्माण र जग्गा अधिग्रहणका लागि १८ करोड ६१ लाख ४७ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

    सुदूरपश्चिमका साना विमानस्थलको स्तरोन्नतिदेखि कैलालीको धनगढीमा रहेको विमानस्थललाई क्षेत्रीय स्तरको बनाउनका लागि दुई सय ५० बिघा जमिन अधिग्रहण तथा दुई हजार पाँच सय मिटर धावनमार्गका लागि बजेट विनियोजन गरिएपछि यहाँका नागरिकले आलेलाई धन्यवाद दिए । अरु त अरु नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामाले पनि मन्त्री आलेको काम गराई र सक्रियताको प्रशंसा गरेका छन् । मन्त्री आलेले नेपाल वायुसेवा निगमको सुधारका लागि राम्रो थालनी गरेको भन्दै प्रशंसा गरेका हुन् । निगमले हालैमात्रै खतराजन्य वस्तु बोक्ने अनुमति पाएपछि लामाले यस्तो टिप्पणी गरेका हुन् ।

    आले र कार्यकरी अध्यक्ष युवराज अधिकारीको सक्रियताले आज निगम ‘डेन्जरस गुड क्यारियर’ भएको भन्दै यो धेरै राम्रो प्रगती भएको उनको भनाइ छ । लामाले भनेका छन्, 'मेरो साढे तीन दसकको कार्यकालमा धेरै पर्यटन मन्त्रीहरुका साथै कार्यकारी अध्यक्षहरु देखे र हर्कतहरु पनि भोगे! कोइ गफैमा सिमित रहे भने कोइ नामको लागि मात्र, कोइ मौका पाएर पनि केही गर्न नसकी समय फ्याल्नेमा परे भने कोइ भत्काउनको लागि मात्र आएको पाए, कोइ अरु वायुसेवाको एजेन्ट भएर आए। फेरि यसो भन्दा सबै नै त्यही दर्जामा राख्न खोजेको होइन । ने वा नि लाई बनाउनु पर्छ भन्ने सुगत कन्साकार ज्यु जस्ता पनि तिन तीन पटक आए तर हराए ।

    तर दृढ इच्छा शक्ति भएका नेतृत्व कमै देखे । सबैले नेवानी सुधार गर्न खोजे, मन्त्र जपे पनि प्रगति हुन सकेन। तर भनिन्छ समय सधै एकनास हुदैन । अहिले आशा लाग्दो कामको शुरुआत भएको छ ।

    स्थापना भएको ६३ बर्षसम्म हामीले खतराजन्य वस्तु बोक्ने अनुमति लिन नसकेर हामीले ठुलो ब्यवसाय गुमाएका थियौं । वर्तमान मन्त्री प्रेम बहादुर आले ज्यु तथा कार्यकरी अध्यक्ष युबराज अधिकारी ज्युको सक्रियताले आज हामी डेन्जरस गुड क्यारियर भएका छौ। यो धेरै राम्रो प्रगती हो ।

    साथै विभिन्न अरु काम हरुको सुरुवाती पनि गराइ सक्नु भएकाले पनि ठूलो आश पलाएको छ ।' आले अन्य थुप्रै जनप्रिय काम गरेका छन्, जसको मूल्यांकन जनताले गरिरहेको छ ।

    पौष २१, २०७८ बुधवार १५:४९:२७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रेम आले

  • नेपाल पाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend