काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणाले विवादित व्यापारिक बतास समूहसँग आफ्नो कुनै सम्बन्ध नरहेको स्पष्ट पारेकी छन् ।
नारायणहिटी सङ्ग्रहालयसहित विभिन्न सम्पदामा व्यापार गर्न अनुमति लिएर विवादमा आएको बतास समूहसँग आफ्नै नाम जोडेर समाचारहरु आएपछि आरजुले कडा आपत्ति जनाएकी हुन् ।
नारायणहिटी दरबार संग्रहालय परिसरमा रेस्टुरेन्ट सञ्चालन गर्ने अनुमति पाएको बतास समूहको सल्लाहकारका रुपमा आरजुको नाम जोडेर अहिले बदनाम गर्ने गिरोह सक्रिय रहेका बेला बालुवाटारबाट कडा खण्डन आएको हो ।
बतासले सम्पदा क्षेत्रमा व्यापार गर्न थालेपछि प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा पर्यटनमन्त्री प्रेमबहादुर आलेले रोक लगाइसकेका छन् । समिति बनाएरै को को संलग्न छन् भनेर छानविन गरिरहेका छन् ।
यस्तोमा प्रधानमन्त्री पत्नीलाई जोडेर बदनाम गर्ने उद्देश्यले समाचार आएपछि आरजुले भण्डाफोर गरेकी हुन् । ‘संचार माध्यमहरुमा विभिन्न संघ संस्थाहरुमा मेरो संग्लनता भएको भनेर समाचारहरु आएकोमा मेरो ध्यानाकर्षण भएको छ, तल उल्लेखित संस्थाहरु बाहेक अरु कुनै पनि संस्थाहरुमा सल्लाहकार अथवा अन्य कुनै पदमा मेरो संलग्नता नरहेको स्पष्ट पार्न चाहन्छु,’ आरजुले भनेकी छन् ।
आरजुलले आफू ग्रामिण महिला विकास तथा एकता केन्द्र (रुडुक), नेपालमा (संस्थापक अध्यक्ष तथा सल्लाहकार) साथी, नेपालमा (संस्थापक, पूर्व अध्यक्ष तथा सल्लाहकार), सुरक्षित मातृत्व संजाल महासंघको (संस्थापक एवं वर्तमान अध्यक्ष), नामी (अध्यक्ष), उल्लेन्स स्कुल (अध्यक्ष, बिद्यालय व्यवस्थापन समिति) ब्लड डोनर्स एसोसिएसन अफ नेपाल ब्लोडनको (संरक्षक)का रुपमा संलग्न रहेको पनि जानकारी गराएकी छन् ।