काठमाडौं । सरकारले नेपाल प्रहरीमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) थप्ने तयारी गरेको छ । नयाँ दरबन्दी सिर्जना गरेर एआईजी थप्न लागिएको हो । यसका लागि प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयलाई सिफारिस गरिसकेको छ ।
प्रहरी हेडक्वार्टरको प्रस्तावमा गृहले एआईजी थप्ने प्रस्ताव क्याविनेटमा लैजाने तयारी गरेको छ । प्रहरी प्रधान कार्यालयले प्रशासन विभाग, प्रदेश समन्वय विभाग र केन्द्रीय अनुसन्धान ब्यूरोमा प्रमुख रहनेगरी एआईजी थप्न भनेको हो । यी निकायमा अहिले डीआईजी प्रमुख छन् । एआईजी थप भएसँगै अन्यायमा परेका केही काबिल र स्वच्छ छविका डीआईजीलाई न्याय हुनेछ ।
गृहमन्त्री बालकृष्ण खाडले अन्यायमा परेका डीआईजीलाई न्याय दिने यो प्रस्तावमा सहमत छन् । अब एआईजीमा बढुवा हुने तीन डीआईजीले यसअघि पोलिटिकल पावरमा कुनै क्षमता नभए पनि एआईजी भएका विश्वराज पोखरेल र सहकुल थापासँगै आईजीपी हुन प्रतिस्पर्धा गर्नेछन् ।
हालका आईजीपी शैलेश थापा क्षेत्रीले आउँदो वर्ष वैशाख १९ मा अवकाश पाउने भएकाले त्यसपछि अहिले बढुवा भएका मध्येबाट पनि जसको कार्यसम्पादन अब्बल हुन्छ उनी बढुवा हुन सक्नेछन् ।
यस हिसाबमा कार्यसम्पादनमा अब्बल केन्द्रीय अनुसन्धान ब्यूरोका डीआईजी धीरजप्रताप सिंह, महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत डीआईजी उत्तमराज सुवेदीलाई एआईजीमा बढुवा गर्ने तयारी छ ।
त्यसैगरी अन्य एक पदमा घनश्याम अर्याल, ईश्वरबावु कार्की, बसन्त पन्त, बसन्त लामा र रविन्द्र धानुक, अरुण बिसी लगायत प्रतिस्पर्धामा छन् । सबैले आ-आफ्नो हिसाबले लबिइङ गरिरहेका छन् ।